खेम सरलाई खुला पत्र


खेम सरलाई खुला पत्र

-गोविन्द पोखरेल, उर्लावारी

आदरणीय खेम सर नमस्कार,

यहाँ सन्चै हुनुहुन्छ होला । सर्वप्रथम तपाईंलाई यही खुला पत्रबाट तपाईं २०८० साल साउन १ गतदेखि क्याम्पस प्रमुख बन्नु भएकोमा ढिलो भएपनि बधाई दिन चाहान्छु । अहिले पुनः क्याम्पस प्रमुखको जिम्मेवारीमा फर्कनु भयो रे भन्ने कुरा सुनेँ ।

तपाईँ क्याम्पस प्रमुख हुनुअघि यहाँको नाम उर्लावारीमा धेरै नै सुन्ने गर्थेँ । ‘खेम सर, खेम सर’ भनेको धेरै सुनेको थिएँ तर कहिल्यै तपाईंसँग चिया खाने अवसर मिलेको छैन । आशा छ, यो खुला पत्र लेखेपछि तपाई‌सँग चिया गफ अवश्य मिल्ने छ । तपाईंजस्तो उर्लावारीको चर्चित, सार्वजनिक अझ क्याम्पस प्रमुख भएको व्यक्तित्वसँग बसेर चिया खाने अवसर पक्कै मिल्नेछ ।

खेम सर, तपाईंलाई केही दिनअघि नेकपा एमाले उर्लावारीको वडा नम्बर ४ को सिफारिसमा पार्टीले कारबाही गर्‍यो रे । एमालेले पार्टीले संगठित सदस्य समेत नरहने गरी कारबाही गर्‍यो रे । शिक्षण पेशामा लागेकाले सदस्यता खारेज गरिदिएको होला भन्ने बुझेँ । कुनै पनि नेपाली नागरिकले कुनै दल वा विचारमा आस्था राख्न पाउँछ तर पेशा अँगालेका व्यक्तिले कुनै पार्टीको सदस्य नै लिएर राजनीति गरेको अलिक अव्यवहारिक र नैतिक प्रश्‍न सधै नै हुन्छ । तपाईं जस्तो क्याम्पस पढाउने गुरूले खुला राजनीतिक गरेको पनि त सुहाउँदैन नि !

बुझ्दै जाँदा थाहा भयो तपाईं एउटा गम्भीर नैतिक विवादमा फस्नु भएको रहेछ । त्यही विवादका कारण एमालेले कारबाही गरेछ । साउन ३२ गते तपाईंको मोटरसाइकलमा सवार उर्लावारीकी एक महिलाको लडेर मृत्यु भएको घटना सुनेँ । सुरूमा तपाईंले मसँग ती महिला सँगै गएको हैन,बाटोमा लिफ्ट दिएको मात्रै भन्नुभयो रे भन्ने समाचार मैले पढेँ । पीडित परिवारको बयानमा सुरूमा घटना लुकाउन तपाईंले ढाकछेप गर्ने प्रयास गर्नुभयो भन्ने सुनेँ ।

सुवारी साधनबाट लडेकाले सवारी ज्यान मुद्दा मुद्दा वा सवारी दुर्घटनासँग सम्बन्धित मुद्दा लाग्छ । त्यो यहाँलाई पनि लाग्ने स्वभाविक नै थियो लाग्यो । तपाईंसँग लाइसेन्स थियो, २५ दिन थुनामा बस्‍नुभयो केही जरिवाना तिर्नुभयो अनि छुट्नुभयो । कानुनी कुरा यही हो । यो घटनामा तपाईं भएको भएपनि अरु कुनै चालकले सवारी चलाएको भएको भए पनि कानुन यही हो सबैलाई यही हो ।

महिलाको को थिइन् कहाँकी हुन् र ती महिलासँग तपाईंको कस्तो सम्बन्ध हो यो विषय तपाईंको व्यक्तिगत हो । थप केही चाहे प्रहरीले चाहे अदालतबाट अनुमति लिएर तपाईंको मोबाइल फोन ट्रेस गरेर भएपनि पनि ती महिलासँगको यहाँको सम्बन्ध कस्तो हो भनेर थाहा भइहाल्छ । यो व्यक्तिगत गोपनीयता हो संविधान प्रदत्त सबैले पाएका हक हुन् ।

व्यक्तिगत विषय व्यक्तिगत नै हुन दिनुपर्छ । तर जब तपाईं सार्वजनिक जीवनमा बस्न खोज्‍नुहुन्छ र व्यक्तिगत कुराहरू सार्वजनिक हुन्छ त्यो सार्वजनिक हुन्छ तब ती कुराहरूमा समाजको चासो हुन्छ । यो स्वभाविक पनि हो ।

तपाईंलाई भएको यही हो । कारण तपाईं उर्लावारी बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख हो । तपाईंको व्यक्तिगत सम्बन्ध कसैसँग थियो होला वा छैन । तर जब तपाईंले पीडितका आफन्तलाई सुरूमा गलत सूचना भन्नुभयो तब पीडितका आफन्तहरूले यो कुरा बाहिर ल्याए। यसबारे उद्योग वाणिज्य संघ उर्लावारीका सुनिल बोहोराले सार्वजनिक रूपमा भिडियो बनाएर यहाँ विरुद्ध भन्नु भएको छ ।

यहाँ क्याम्पसको प्रमुख । क्याम्पस प्रमुख भनेको उच्च नैतिक चरित्र भएको प्राज्ञिक व्यक्ति । अझ भन्नुपर्दा प्राज्ञिक व्यक्तिले प्राज्ञिक कुरामा आफ्नो दिमाग लगाउने, जर्नल आर्टिकल्सहरू लेख्‍ने हो । मैले तपाईंले तपाईंको प्राज्ञिक क्षेत्रमा के के कुराहरू प्रकासन गर्नुभएको छ भनेर गुगल स्कलर र रिसर्च गेटमा गएर खोजेँ तर भेटिनँ । उर्लावारी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुखको रिसर्च गेट र गुगल स्कुलरमा एउटा पनि प्राज्ञिक लेखहरू पाइनँ । मेरा एक जना गुरू जो डिन हुनुहुन्छ । उहाँ भन्नुहुन्छ प्राज्ञिक भन्ने हो भने प्राज्ञिक कार्य गर्नुपर्छ न कि विवाद र नैतिक कुरा आओस् । प्राज्ञिक व्यक्ति उच्च नैतिक चरित्र भएको हुनुपर्छ । अझ कुनै पनि किसिमका विवादमा नफसेको होस् । उसलाई लिएर समाजको मानक बनोस् । प्राज्ञिक क्षेत्र र कर्ममा सदैव लागेको होस् ।

तपाईंलाई तपाईंको पार्टीले ‘अनौतिक व्यवहार र चरित्रहीन आचरण गरेको’ आरोप लगाउँदै कारबाही गरेको छ । अब कक्षाकोठामा विद्यार्थीहरूलाई कसरी नैतिक र सामाजिक विषयका कुरा गर्नुहुन्छ ?

तपाईं विरुद्ध मुद्दा परेसँगै निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी अम्बिका गौतमलाई दिइयो । पुनः तपाईं क्याम्पस प्रमुख हुनुपर्छ भनेर अड्डि लिनुभयो । तपाई्को प्रभावमा परेर समितिले पनि तपाईंलाई पुनः क्याम्पस प्रमुखमै निरन्तरता दिने निर्णय गर्‍यो । यसमा सञ्चालक समिति पनि दोषी छ ।

खेम सर, आफैं तपाईं आफ्नो छातिमा हात राखेर भन्नुहोस् ‘ साच्चै नै क्याम्पस प्रमुख मै बस्नुपर्छ ?’

सारा विद्यार्थीहरू तपाईंको विरुद्धमा आन्दोलनरत छन् राजीनामा दिनु भनेर । क्याम्पस जस्तो पवित्र शैक्षिक संस्थामा तपाईंकै कारण पार्टी र गुण्डाहरूको अखडा बन्न थालेको छ । तपाईंविरुद्ध सामाजिक प्रश्‍न उठेको छ खेम सर ।

खेम सर उर्लावारी क्याम्पसको विधान पनि हेर्नुभएको होला । विधानको परिच्छेद २५ मा क्याम्पस प्रमुख सम्बन्धी व्यवस्था रहेका छन । त्यहाँ ‘लोकप्रियता’ लाई पनि क्याम्पस प्रमुख हुने मानक बनाइएको रहेछ । छातिमा हात राखेर भन्नुहोस् खेम सर ‘उर्लावारी बहुमुखी क्याम्पसका विद्यार्थीहरू तपाईंलाई नै क्याम्पस प्रमुख होस् भन्ने चाहान्छन् ?’ आफैं सोच्नुहोस् त विभिन्न पार्टी निकट सबै विद्यार्थी संगठनहरूले तपाईंलाई राजीनामा दिनु भनेर विज्ञप्ति निकालेका छन् । भोलिका दिनमा क्याम्पसमा कुनै किसिमका घटना भए त्यसको जिम्मेवारी को हुन्छ ?

तपाईंले २०८० सालको क्याम्पसको वार्षिक प्रतिवेदन हेर्नुहोला । त्यहाँ क्याम्पसको चुनौतीमा कार्य क्षमता तथा दक्षताका आधरमा प्राध्यापक तथा कर्मचारीहरूलाई दण्ड र पुरस्कारको व्यवस्था गर्न नसकिएको भन्ने रहेछ । उर्लावारीबासीले तपाईं विरुद्ध विरोध गर्नुअघि आफैबाट सुरुवात गर्नुहोस् खेम सर ।

सञ्चालक समितिले तपाईंलाई पुनः क्याम्पसमा प्रमुखमा बहाल गर्ने निर्णय गरिदियो होला तर तपाईंलाई राम्रो संस्कार बसाउने अवसर पनि छ । त्यसैलाई आत्मसाथ गरेर यस्ता लफडा र विवादमा नपरी राजीनामा दिनुहोस् खेम सर तपाईंलाई सबैले जयजयकार गर्नेछन् । योगेन्द्रबहादुर थापा, गोपाल भण्डारी जस्तो चिफ सर बसेको त्यो कुर्सीलाई तपाईं दुर्गन्धित नबनाउनुहोस् । अखिर तपाईं क्याम्पस प्रमुख भइसक्नुभएको छ,तपाईंले छाडिदँदा समग्र विद्यार्थी र शिक्षक खुसी हुन्छन् भने किन नगर्ने । क्याम्पस प्रमुखबाट राजीनामा दिँदा सिंगो उर्लावारी खुसी हुन्छ भने तपाई किन छाड्न सक्नुहुन्न ? खेम सर विद्यार्थीका लागि भएपनि एक पटकलाई राजीनामा दिनुहोस् !

अँ तपाईंसँग चियाको प्रश्न सुरू गर्दै चिठ्ठी लेख्‍न थालेको थिएँ, प्राइम एफएम नजिकै रहेको पोख्रेल चिया पसलमा तपाईंको समय निकालरे चियाको चुस्की लिनु उपयुक्त होला ।

तपाईंको शुभचिन्तक

प्रतिक्रिया दिनुहोस्