राम्रो काम गर्ने जनप्रतिनिधिलाई जनताले यसपटक पनि पुन : अनुमोदन गर्नेछन्


मिरा कुइँकेल

उर्लाबारी – ३ मोरङ

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा गाउँघर टोलटोलमा कसलाई बिजयी गराउने भन्ने सबै दलको होडबाजी चलिरहेको छ । त्यसोत केन्द्रदेखि सबै नेताहरु आफ्नो निर्वाचन क्षेत्रमा आफ्ना उम्मेद्वारलाई विजयी गराउन लागि परिसकेका छन् ।

बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने दिन नजिकिँदै दर्ता राजनितिक दलका नेताहरुलाई भने चुनावको चटारो लागेको छ भने आम सर्वसाधरण जनता चुनाव आएपनि त्यति उत्साहित छैनन् । आफ्नो र आफ्नो ठाउँमा उत्सहजनक परिवर्तन नआएकै कारण आम सर्वसाधरणमा चुनावप्रति त्यति उत्साह पाईएको छैन ।

स्थानीय तहका जनप्रतिनिधिहरुले ५ वर्ष चलाएको सवारी साधन निर्वाचनअघि नै फिर्ता गर्नुले चुनाव जित्ने अर्काे फन्डा भनेर सामाजिक संजाल भरी फैलिरहेको देख्न सकिन्छ । सवारी साधन हाल चुनावको मुखमा फिर्ता गर्नु कुनै ठुलो कार्य भन्ने चै म मान्दिन । यदि यो सेवा सुबिधा कटाएर ५ वर्ष अघि निम्न वर्गका आफ्नो टोल वस्तीका वालबालिकाको लागि शैक्षिक कोष स्थापना गरिएको थियो भने भोलि निर्बाचित हुने जनप्रतिनिधिहरुले नि सोही अनुरुप कार्यन्वयन गर्दा शिक्षामा थोरै भएनि परिवर्तन पक्कै हुन्थ्यो । यो सवारी फिर्ता गर्नुलाइ चै जब राती बुढी ताँती भन्ने उखानसँग मिल्न जान्छ बिकासको नाममा होमपाइप लगाउनु, कालोपत्र बनाउनु मात्र होइन आफ्नो वडा नगरका बालबालिकाको शैक्षिक स्तरमा सुधार ल्याउन सक्नु ठुलो उपलब्धी जस्तो लाग्दछ ।

५ वर्षको अवधिमा स्थानीय सरकार सबैभन्दा दरिलो देखियो । त्यसमाथी नि नगर प्रमुख वा अध्यक्ष त मुख्य साँचो बोक्ने घरमुलि सरह देखियो । त्यसैले होला हाल देशैभरी प्रमुख पदमा उठ्न सम्पुर्ण दलहरुका नेताको उत्तिकै चासोको विषय देखिन्छ । पालिकाका प्रमुख होस या वडा अध्यक्ष जनताको पिर मर्का बुज्ने, अगाडिको ५ वर्ष कार्यकालमा अत्यन्तै लोकप्रिय रहेको र जनताले फेरि दोहोर्याउन खोज्ने जनप्रतिनिधिलाई टिकट दिने हो भने पक्कै पनि विकासमा अझ तिब्र गतिले हुन सक्छ । दुर्भाग्य यहि छ कि यहाँ टिकट बितरणमा ठुलो अन्याय भएको देखिन्छ । यहाँ माथिका नेताको नजिककालाई टिकट वितरण गर्ने र जित्ने सम्भावनालाई मुल्यांकन नगरी उम्मेदवार छनौट गर्ने प्रक्रियाले जित्ने ठाँउ सजिलै उम्किएको गत निर्वाचनमा देखिएको छ ।

बिगत ५ वर्षको अनुभवका आधारमा जनताले सबै जनप्रतिनिधिलाई मुल्यांकन गरिसकेका छन् । राम्रो काम गर्ने जनप्रतिनिधिलाई जनताले यसपटक पनि पुन : अनुमोदन गर्नेछन् भने नराम्रो काम र जनताको भावना बिपरित चल्ने जनप्रतिनिधिलाई जनताले विदा गर्ने निश्चित छ । पार्टीमा यति वर्ष खटिए, पार्टीको यो कमिटीमा बसे भन्दा पनि जनताको लागि मैले यो गरे र आगामी दिनमा निर्वाचित भएपछि यसरी आफ्नो वडा वा पालिका बनाउँछु भन्ने भिजन बोकेका उम्मेद्वार नै जनताको रोजाई बन्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्