ग्रामीण सामुदायिक वनको २५ औं साधारणसभा सम्पन्न
कानेपोखरी, असोज २४ । मोरङ कानेपोखरी ७ मा रहेको ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समूहले आफ्नो २५ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । रुख रोपौं, वन जोगाऔं, वातावरण सफा राखौं भन्ने मूल नाराका साथ सामुदायिक वनको भवनमा आज (शुक्रवार) साधारणसभा सम्पन्न भएको हो ।
कार्यक्रमको प्रमुख अतिथि कानेपोखरी गाउँपालिकाको अध्यक्ष राजमती इङ्नामले विरुवामा पानी लगाएर सभाको उद्घघाटन गरेकी थिइन । वनको कार्य प्रगति विवरण र भावी रणनीति अध्यक्ष देवेन्द्र प्रस्तुत गर्दै चालू आर्थिक वर्ष ०८२/८३ को अनुमानित आम्दानी ९१ लाख ४ हजार ५० रुपैयाँको बजेट सार्वजनिक गरेका थिए भने कोषाध्यक्ष गीता देवी बस्नेतले आ.व. २०८१/८२ को कुल ८९ लाख ९२ हजार ६ सय ८५ रुपैयाँ बराबरको आयव्यय प्रस्तुत गरेकी थिइन ।
सामुदायिक वनले ०८१/८२ मा विपन्नमुखी कार्यक्रम अन्तर्गत ३३ जना उपभोक्ताहरुलाई हार्पिक फिनेल झोल साबुन र नुहाउने साबुन बनाउने तालिम सञ्चालन गरिएको, समुहको खाली १ हेक्टर जमिनमा वृक्षरोपण गरिएको, पुरानो दायित्व हिसाबमा रहेको ३५ प्रतिशत ऋण भार मध्ये रु १५ लाख ६१ हजार २ सय ३७ रुपैयाँ तिरिएको लगायतको प्रगति प्रतिवेदन उल्लेख गरिएको छ साथै आगामी कार्ययोजनाहरुमा वन क्षेत्र भित्र जडिबुटी औषधिजन्य बिरुवा लगाउन तयारी गर्ने, सिमसार क्षेत्र भलुवा, कानेपोखरीमा स्थानीय जातका माछा पालन गर्ने, कानेपोखरी ७ चालीस बिघे कमल जोगीको घर उत्तरमा रहेको जामुन जातको रुख हटाउने सम्बन्धित निकायमा प्रस्ताप गर्ने र निरन्तर वन संरक्षण, वन विकास र वन सम्बर्द्धन कार्यलाई निरन्तरता दिने लगायतका विषयहरु प्रतिवेदन उल्लेख गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अध्यक्ष राजमती इङनामले वनले विकासका पुर्वाधार निर्माण शिक्षा, स्वास्थ्य लगायतका काम पनि गर्न सक्ने हुनाले चोरी शिकारी नियन्त्रण गर्दै वन संरक्षण गर्नुपर्नेमा जोड दिइन ।
कार्यक्रममा पालिका अध्यक्ष राजमती इङ्नाम, उपाध्यक्ष भोलाप्रसाद अधिकारी, सामुदायिक वन महासंघका कानेपोखरी अध्यक्ष नवीन राई लगायतको उपस्थिति रहेको थियो ।