कानेपोखरीको हरकपुरमा फुटबल प्रतियोगिता भोलिबाट सुरु हुँदै
कानेपोखरी, असोज २५ । मोरङ, कानेपोखरी ३ हरकपुरमा दोश्रो संस्करण पुरुष खुल्ला नकआउट फुटबल प्रतियोगिता यहीँ असोज २६ गते (भोलि) देखी सुरु हुने भएको छ ।
नव प्रतिभा युवा क्लबद्वारा आयोजित प्रतियोगिता असोज २६ आइतबारदेखि कार्तिक २ गतेसम्म सञ्चालन हुने क्लबका सचिव सुमन थोक्लेंन लिम्बूले बताए । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ सुरु हुन लागेको प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार १ सय ११ रुपैयाँ र दोश्रो पुरस्कार ३० हजार १ सय ११ रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र रहेको लिम्बूले जानकारी दिए ।
प्रतियोगितामा हिमाल युनाइटेड एफसी, किराँत एफसी, बेलबारी ८ एफसी, जहदा एफसी, किर्तिपुर एफसी, ड्रीम्स स्पोर्ट्स एफसी, शुक्रबारे एफसी, शिवालय एफसी, कानेपोखरी एफसी, टाँडी स्पोर्ट्स एफसी, जुरा एफसी र नव प्रतिभा युवा क्लब गरि १२ टिमको सहभागीता रहने क्लबका अध्यक्ष जयराज लिम्बूले बताए ।
खेल अवधीभरिबाट समापनको दिन सर्वोउत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, राइजिङ प्लेयर जस्ता विद्यागत पुरस्कार र ट्रफीले पुरस्कृत गरिने आयोजक समितिका अध्यक्ष लिम्बूले सुनाए । हरेक दिनको खेलबाट म्यान अफ दि म्याच पनि छनोट गरि पुरस्कृत गरिने पनि उनले बताए ।
प्रतियोगितामा सहभागी हुने टिमले ५ हजार रुपैयाँ इन्ट्री फि बुझाउनु पर्ने आयोजकले बताएको छ । खेल कानेपोखरी ३ स्थित हरकपुरको खेल मैदानमा हुनेछ । पहिलो चरणको खेल दिनको ठिक २ बजे र दोश्रो चरणको खेल ३ बजेबाट सुरु चल्नेछ ।
क्लबले स्थानीय युवा र खेल प्रेमीहरूलाई सहभागी भई खेलकुदको माध्यमबाट मित्रता र स्वस्थ प्रतिस्पर्धा प्रवर्द्धन गर्न आग्रह गरेको छ। यसपटकको प्रतियोगितामा सम्पूर्ण खेल आधिकारिक रेफ्री र लाइन्समेनहरूबाट खेलाइने पनि आयोजकले बताएको छ । उद्घघाटन खेल हिमालय युनाइटेड एफसी र किराँत एफसी बिच रहनेछ।