नौ शीर्षकको बजेट कटौति गर्ने कानेपोखरी गाउँपालिकाको निर्णय


कानेपोखरी, ४ असोज । मोरङको कानेपोखरी गाउँपालिकाले विभिन्न नौ शीर्षकको बजेट कटौति गर्ने निर्णय गरेको छ । जेनजी पुस्ताको आन्दोलनका क्रममा झण्डै पाँच करोड मूल्य बराबरको भौतिक पूर्वाधार,प्रविधि र जिन्सी सामान क्षति भएपछि पालिकाले बिहीबार १९ औं विशेष गाउँसभा मार्फत खर्च कटौतिको निर्णय गरेको हो ।

बैठकले विभिन्न वडा कार्यालयहरू र शाखाले तय गरेका लक्षित कार्यक्रमहरू,खेल सामग्री वितरण र छात्रवृति कार्यक्रममा विनियोजित बजेट कटौति गर्ने निर्णय गरेको छ । यस्तै विभिन्न जात जातिको संस्कृति प्रवद्र्धनमा विनियोजित रकम,वडा स्तरीय चालु खर्चका लागि विनियोजित पाँच लाखसम्मका कार्यक्रम, पालिका भरिका पाँच लाख सम्मका सबै योजना, गोष्ठी र तालिम सम्बन्धि कार्यक्रम,निशुल्क शिक्षा पालिकाको ईच्छा कार्यक्रम र नागरिक उपचार सहयोगको ६० प्रतिशत रकम कटौति गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका हुन् । गाउँपालिकाको प्रशासनिक कार्य तत्काल सञ्चालन गर्न अप्ठ्यारो भएपछि पालिकाले बिहीबार आकस्मिक रुपमा १९ औं विशेष गाउँसभा बोलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्