मनमोहन प्राविधिक विश्वविद्यालयमा बीबीए एलएलबी र एलएलएमको पढाई हुने
विराटनगर ४ मंसिर । मनमोहन प्राविधिक विश्वविद्यालयले बीबीए एलएलबी र एलएलएमको पढाई शुरु गर्ने भएको छ । बीबीए एलएलबीमा नेपालमै पहिलो पटक विश्वविद्यालयले पढाई शुरु गर्न लागेको हो ।
आगामी पुस देखि बीबीए एलएलबीको कक्षा शुरु हुने विश्वविद्यालयका उपकुलपति डा.सुवास श्री पोखरेलले जानकारी दिनुभयो । विश्वविद्यालयले आज विराटनगरमा आयोजना गरेको पत्रकारसँगको अन्तरक्रियामा व्यवस्थापन र कानुनलाई समेटेर विश्वविद्यालयले पाठ्यक्रम तयार गरेको उहाँले बताउनुभयो ।
५ वर्षे कोर्षमा विद्यार्थीले ४० प्रतिशत व्यवस्थापन, ५० प्रतिशत कानुन र १० प्रतिशत अन्य विषयमा अध्ययन गर्नेगरिको पाठ्यक्रम तयार गरिएको उपकुलपति पोखरेलले बताउनुभयो । प्रविधिमैत्री, व्यवहारिक र समय सान्र्दभिक कानुनी जनशक्ति उत्पादन गर्ने लक्ष्य लिई मनमोहन प्राविधिक विश्वविद्यालयले देशमै पहिलो पटक स्कुल अफ एप्लाइड साईन्स टेक्नोलोजी एण्ड ल अन्तर्गत ‘मनमोहन ईस्टिच्युट अफ ल’ स्थापना छ गरेर नयाँ नमूना पाठ्यक्रममा आधारित भएर कानुनमा स्नातक तह (बीबीए एलएलबी) को पढाई सुरु गर्न लागेको उपकुलपति पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो,‘ पाठ्यक्रम हामीले धेरै विज्ञहरुबाट सुझाव लिएर तयार गरेका छौ । यसले कानुन, व्यवस्थापन र प्रविधिमा आधारित दक्ष जनशक्ति मात्र उत्पादन गर्दैन, कानुन व्यावसायीहरूलाई आत्मनिर्भर पनि बनाउँदछ ।’
पाँच वर्षे यो पाठ्यक्रमले विद्यार्थीहरूलाई देवानी र फौजदारी मुद्दाहरूमा प्राविधिक खोज अनुसन्धान गर्न सक्षम बनाउने उहाँको दावी छ । पाँच वर्ष कोर्षका लागि विद्यार्थीले ४ लाख ५० हजार शुल्क तिरे पुग्ने र छात्रवृत्तिको व्यवस्था समेत रहेको उहाँले बताउनुभयो । विश्वविद्यालयलेआगामी माघ महिनादेखी विश्वविद्यालयको फौजदारी अपराध कानुनमा एलएलएम इन क्रिमिनल ल को पढाई पनि सुरु गर्ने लक्ष्य रहेको मनमोहन ईस्टिच्युट अफ लका प्रमुख कोषराज नेउपानेले जानकारी दिनुभयो ।
विश्वविद्यालयमा ३ वटा स्कुलहरू स्कुल अफ इन्जिनियरिङ, स्कुल अफ मेडिसिन एण्ड एलाइड हेल्थ साइन्सेज तथा स्कूल अफ एप्लाइड साईन्स, टेक्नोलोजी एण्ड ल सञ्चालन भइरहेको उपकुलपति पोखरेलले बताउनुभयो । विश्वविद्यालयले भावी दश वर्षे शैक्षिक कार्ययोजना र विभिन्न विषयका पाठ्यक्रमहरू तर्जुमा गरिसकेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘ विश्वविद्यालयले ७ वटा स्नातक तहका र ४ वटा स्नातकोत्तर तहका कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य रहेको छ । यी कार्यक्रमबाट कूल १ हजार २८ जना विद्यार्थीहरू लाभान्वित हुनेछन ।’
दोस्रो पाँच वर्षे योजना अन्तर्गत आ.व. २०८३–८७ सम्ममा थप ६ वटा विषयमा विधावारिधी सञ्चालन गर्ने लक्ष्य रहेको उपकुलपति पोखरेलले बताउनुभयो । यी कार्यक्रमहरू सञ्चालनमा आइसकेपछि १ हजार ३१५ जना विद्यार्थीहरू लाभान्वित हुने र सबै कार्यक्रमहरू सञ्चालन भएपछि २ हजार ३४३ जना विद्यार्थीहरू लाभान्वित हुने उहाँको भनाई छ ।
विश्वविद्यालयमा हाल ८८० विद्यार्थी अध्ययनरत छन् । कोशी प्रदेशको आर्थिक उन्नति, प्रगति र समृद्धिको लागि चाहिने दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित प्रदेश सरकारले २०७६ मा मनमोहन प्राविधिक विश्वविद्यालय स्थापना गरेको हो ।