पथरी शनिश्चरेमा ‘चरणदास चोर’ नाटक साउन ३१ बाट मञ्चन हुने


पथरी शनिश्चरे, साउन २३ । मोरङ पथरी शनिश्चरे नगरपालिकामा ‘चरणदास चोर’ नाटक मञ्चन हुने भएको छ । शब्द थिएटरले आयोजना गर्ने नाटक पथरी शनिश्चरे २ स्थित हरियाली सामुदायिक वनको सभाहलमा साउन ३१ गतेदेखि भदौ १३ सम्म सञ्चालन हुने भएको हो । यसबारे जानकारी बिहिवार एक पत्रकार सम्मेलन मार्फत गराइएको थियो ।

भारतीय लेखक हविव तन्विरद्वारा लिखित नाटकले समाजमा व्याप्त विसंगति, भष्ट्राचार, लागुऔषध दुर्व्यसनी लगायतको कुलतमा फसेका युवाहरुलाई मनोरञ्जन मार्फत सन्देश प्रवाह गर्नुका साथै रंगमञ्चप्रति रुचि बढाई स्थानिय प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्य रहेको नाटकका निर्देशक जीवन बरालले जानकारी दिए । नाटकलाई नेपालीमा कलाकार तथा निर्देशक राजन खतिवडा र खस भाषामा निर्देशक आशान्त शर्माले अनुवाद गरेका हुन । दुवै अनुवादित भाषाहरुबाट काटछाट र थपघट गरेर मञ्चन हुन लागेको नाटक तयार पारिएको बरालले सुनाए ।

नाटक मञ्चन हुँदासम्म करिब ६ लाख ५० हजार रुपैयाँसम्म अनुमानित खर्च हुन सक्ने जसमा कुनै संघसंस्थाहरुबाट आर्थिक सहयोग प्राप्त नभएको आयोजनाले बताएको छ । आर्थिक संकलन व्यक्तिगत रुपमा समितिका पदाधिकारी र कलाकारहरुबाट स्वस्फूर्त व्यवस्थापन हुने क्रममा रहेको संस्थाका अध्यक्ष अशोककुमार राईले बताए । करिब १० हजार दर्शकहरुले नाटक हेर्ने अनुमान गरिएको छ भने भिआइपी टिकट ५ सय, पब्लिक ३ सय र विद्यार्थीका लागि १ सय ५० रुपैयाँ तोकिएको राईले जानकारी दिए । नाम्लो थिएटर भोराहाट र कदम थिएटर दमलले प्राविधिक सहयोग गरेको छ ।

कलाकारहरु अशोक साम्पाङ, सुमन कुइकेल, प्रेम खतिवडा, सन्तोष राई, पुष्प राई, रबिन रिजाल, रोशन मुर्मु, करुणा तिम्सिना, भूमिका बस्नेत, ग्रिष्म लिम्बू र अनिशा श्रेष्ठ लगायत अभिनय रहको छ भने नाटकमा कोरियोग्राफी राम विक, संगीत संयोजन पुष्प राईले गर्नेछन् भने सहायक निर्देशक सुमन कुइकेल र प्रेम खतिवडा रहनेछन्। ‘शब्द थिएटर’ले यसअघि चर्चित नाटक ‘अनि देउराली रुन्छ’ मञ्चन गरिसकेको छ।

 

प्रतिक्रिया दिनुहोस्