‘६ नम्बर वडालाई एउटा आदर्श वडा बनाउने छौ’


उर्लाबारी –  मावा खोला किनारलाई ब्युटिफिकेशन (सौन्दर्यीकरणं) गर्ने उनको ध्येय छ । अर्थात ६ नम्बर वडाको तीन किमी भु–भाग जोडिएको मावाको पश्चिम किनारालाई पर्यटकीय ‘हब’ बनाइने । उक्त स्थानलाई मनोहर रात्रीकालीन पार्कका रुपमा विकास गर्ने । ‘पहिला यस्तो भए हुन्थ्यो भनेर कल्पना गर्थे’ उर्लाबारी – ६ का सुजन अधिकारीले भने, ‘अब गहन जिम्वेवारी आफैमा आएको छ, विजयी भए लगत्तै कल्पना गरेको कामलाई अघि बढाउन लागिपर्ने छु ।’ ३५ वर्षीय सुजनलाई नेकपा (एमाले) ले उर्लाबारी ६ को वडा सदस्य पदमा उठाएको छ ।

शिक्षक जीवन, सामाजिक कामको सक्रियता र स्थानीयसंगको घुलमिलजस्ता ‘फ्याक्टर’ ले उनलाई जित निकाल्न सजिलो हुने अनुमान गरिएको छ । सुजन भन्छन्, ‘नाति पुस्तादेखि हजुरबुवा पुस्ताको साझा भोट पाएर विजयी हुनेमा आशावादी छु ।’ एमालेको भातृसंगठन युवासंघ मार्फत राजनीतिमा जोडिएका सुजन पार्टीका उर्लाबारी ६ नम्बर वडा कमिटीका सचिवपनि हुन् । बुवा प्रेमबहादुर र आमा सुष्मा अधिकारीका माइलो छोराका रुपमा जन्मिएका सुजन व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका छन् । प्रस्तुत छ, उर्लाबारी ६ का वडा सदस्य पदका उम्मेद्वार उनै सुजन अधिकारीकासंग संवादका अंशहरुः –

– कस्ता एजेन्डा लिएर मतदाताहरु माझ जानुभएको छ ?

स्थानीय तहको निर्वाचन भएको हुँदा स्थानीय एजेन्डाहरू लिएर जनताको घरदैलोमा पुगिरहेका छौं । उहाँहरूको दैनिक जनजीविकाका कुराहरूलाई प्राथमिकता दिएर अघि बढेका छौं । उहाँहरूको समस्या बुझिरहेका छौं ।

६ नम्बर वडा कसरी समृद्ध बनाउने, कसरी सुन्दर गराउने, यहाँको विकास निर्माणको कुरालाई कसरी अगाडि बढाउने भन्ने योजना लिएर घरदैलो अभियान गरेका छौं ।

– घरदैलोमा गएका बेला मतदाताका माग के पाउनुभयो ?

एकदमै सकारात्मक अपेक्षा पाइरहेको छु । मेरो उम्मेद्वारीलाई लिएर आफ्नै मान्छेको प्रतिनिधित्व हुन थालेको भन्दै उत्साहित पनि हुनुभएको छ । पढेलेखेको मान्छेले भोलि राम्रो काम गर्न सक्नुहुन्छ भन्दै मलाई थप ऊर्जा पनि दिइरहनुभएको छ । अर्को कुरा, अहिलेसम्म भ्रष्टाचार, अनियमितता लगायत कुनै पनि दाग लागेको छैन । जनताको माझ यतिको मान्छे आउँदा सिंगो वडाको मुहार फेरिन्छ भन्ने उहाँहरुले विश्वास दिलाउनुभएको छ ।

– यसअघि ६ नम्बर वार्ड कांग्रेसले प्यानल नै जितेको वार्ड हो । उत्साह उमङ्ग छाएको त भन्नुभयो, तर, जित निकाल्न त्यति सजिलो छ र ?

२०७४ को चुनाव अब अतीत भइसक्यो । त्यतिबेला हाम्रा केहि प्राविधिक कमजोरी यो वार्ड गुमाएका थियो । अहिले परिस्थित फेरिएको छ । कांग्रेसबाट जितेका जनप्रतिनिधिले ५ वर्षमा के–कस्तो काम गरे सबैले देखेकै छन् । उनीहरुले भत्ता पचाउने बाहेक जनहितका सवालमा सिन्कोपनि भाँचेका छैनन् । यहाँको विकासको सन्दर्भमा उनीहरुले काम गर्न नसकेको कारणले गर्दा हाम्रो प्यानल जित्ने कुरामा कुनै द्विविधा नै छैन । एमाले इतरका उम्मेद्वारहरुले मतदातामाझ जति नै आश्वासन बाँडेपनि कुनै असर पर्दैन । हामी बलियो अवस्थामा छौं । यहाँको विकासको सन्दर्भमा उनीहरुले काम गर्न नसकेको कारणले गर्दा र अर्को उम्मेदवार पनि कमजोर भएको हुँदा मैले जित्ने कुरामा कुनै द्विविधा नै छैन । हाम्रो पार्टीका सङ्गठित सदस्यहरू पनि बढिरहेका छन् । त्यो कारणले पनि विजयी हुन्छु भन्ने छ ।

– योभन्दा पहिले पनि एमालेका उम्मेदवारहरू जित निश्चित छ नै भन्थे तर परिणाम त फरक आयो नि ?

यहाँका जनताप्रति मलाई पूर्ण विश्वास छ । क. घनश्याम भण्डारीको अगुवाईमा रहेको हाम्रो टिमले जनताको आधारभूत समस्या समाधान गर्न सक्छ भन्ने सबैलाई विश्वास दिलाएका छौ । यहाँका सबै प्रकारका समस्याहरू सम्बोधन गर्न हामी तत्पर छौ । जनचाहनाको सम्बोधन हुने गरी हामीले काम गर्न सक्छौ भन्ने कुरा पनि सबैलाई थाहा छ चुनौतीहरू हुँदै नभएका होइनन्, चुनौतीकै बीचमा हामीले अवसर खोज्ने हो र त्यो अवसरलाई आफ्नो व्यक्तिगतभन्दा पनि जनताको हित सोचेर काम गर्दै अघि बढ्नु पर्छ ।

– आफ्नो वडालाई कस्तो बनाउने सपना देख्नुभएको छ ?

सबैभन्दा पहिले ६ नम्बर वडालाई एउटा आदर्श वडाको रूपमा स्थापित गर्न म लागिपर्नेछु । वडा विकासको गुरुयोजना बनाएर दिगो विकासको थालनी गर्ने कुरामा मैले जोड दिने छु । वडामा रहेको एक मात्र सामुदायिक विद्यालय राधिका माविमा सबै तहको शिक्षालाई निःशुल्क, जीवनोपयोगी र गुणस्तरीय बनाउने कुरामा मैले जोड दिने छु । स्वास्थ्यतर्फ एउटा एम्बुलेन्स र सम्भव भए अस्पताल नै बनाउने सपना छ । ज्येष्ठ नागरिकहरुको सन्दर्भमा सुरक्षा बीमा गर्ने कुरालाई पनि मैले जोड दिनेछु । प्रत्येक घरपरिवारलाई सुरक्षा बीमासँग जोड्ने छु । सामाजिक सुरक्षा भत्ता घरघरमा पुर्याउने छु ।

– भनिएका कार्यक्रम कार्यान्वयन हुन्छ ?

मतदाता त नेताहरूले मत माग्दा ‘गर्छु’ भन्छन्, पछि ‘गर्दैनन्’ भन्छन् नि ? मैले सुनाउन मात्र भन्ने होइन, काम गर्न भन्ने हो । इच्छाशक्तिका साथ कर्तव्यनिष्ठ भएर जनताको पक्षमा काम गर्न हामी चाहन्छौं । हामी वडाको सर्वाङ्गिण विकासका लागि काम गर्छौं । सिंगो वडालाई शिक्षा, स्वास्थ्य र खेलकुदका क्षेत्रमा मात्रै होइन, मावा खोला किनारलाई महत्वपूर्ण आकर्षण थलो बनाउने गरी अघि बढ्छौं । त्यसका लागि पनि कतिपय पूर्वाधार हामीले तयार गर्नुपर्छ । र, पहिले घोषणापत्र लेखिने गरिन्थ्यो, हामीले चाहिँ भोलि काम गर्नेगरी लेखेका छौं । त्यसकारणले हामीलाई विश्वास गरिदिनु हुन मतदाताहरूलाई आग्रह छ । तपाईंको प्रतिस्पर्धी को हो ? अहिलेको अवस्थामा नेपाली कांग्रेसकै,उम्मेद्वारसँग मेरो प्रतिस्पर्धा हुने आँकलन गरेको छु । कांग्रेसको प्उानलमा प्रायः उम्मेदवार पुरानै हुनुहुन्छ । उहाँको काम सबैले हेरिसकेका छन् । त्यसैले उहाँहरुको मूल्याङ्कन, परीक्षण भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्