इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको दोश्रो दिनको खेलमा टेन नवोदय ३-१ गोल अन्तरले विजयी


पथरी शनिश्चरे, २० फागुन । मोरङको पथरी शनिश्चरे नगरपालिकामा संचालित ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’ को दोश्रो दिनको खेल टेन नवोदयले जितेको छ ।

टेन नवोदय र वाई एफसी बिच भएको खेलमा वाईएफसीलाई ३-१ गोल अन्तरले हराउँदै टेन नवोदयले सहज जित हात पारेको हो । जितसँगै नवोदयले खेल तालिकामा ३ अंक जोडेको छ भने वाईएफसी अंकविहिन रहेको छ ।

पहिलो हाफको ३४ औं मिनेटमा नवोदयका बिवेक लिम्बुले १ गोल गर्दै खेलमा १-० को अग्रता दिलाएका थिए । वाईएफसीले पहिलो हाफमा केही राम्रा अवसरहरू प्राप्त गरेपनि गोल भने गर्न सकेन ।
खेलको ५३ औं मिनेटमा बललाई नियन्त्रण गर्ने क्रममा चुक्दा वाईएफसीका भीषण राईले आफ्नै पोष्टमा गोल गरे । २-० गोल अन्तरले पछि परेको वाईएफसीका लागि सान्तवना गोल स्वरुप ६८ औं मिनेटमा रोविन राईको उत्कृष्ट पासलाई सदुपयोग गर्दै सुवास राईले गरे ।
खेलको करिब अन्तिम समय ७७ औं मिनेटमा वाईएफसीका अमृत राईले विपक्षीबाट आएको बललाई बचाउँन खोज्दा आत्मघाती गोल गरेका थिए । सो गोलसँगै टेन नवोदयले वाईएफसीका विरुद्ध ३-१ को सहज जित निकाल्न सफल भयो ।
आजको खेलको मेन अफ दि म्याच विजेता टिमका विवेक लिम्बु घोषित हुदैँ नगद ३ हजार रुपैयाँ सहित ट्रफी र मेडल प्राप्त गरे ।
भोलीको खेल समूह बि बाट देविगञ्ज फुटबल क्लब र सिरिजङ्गा फुटबल क्लबबिच हुनेछ ।

‘खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ सुरु भएको प्रतियोगिताको पथरीशनिश्चरे नगरपालिकाको मुख्य सहयोग र इन्ट्रा नेशनल वेलफेर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले टाइटल स्पन्सर गरेको हो । उपाधि हात पार्ने क्लबलाई २ लाख ५१ हजार र दोस्रो हुनेलाई १ लाख ५१ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्रहरु प्रदान गरिने लिग आयोजक समितिको संयोजक संजिव गिरीले बताए । अनुशासित टिमलाई १५ र सर्वोत्कृष्ट खेलाडीलाई १२ हजार पाँच सय प्रदान गरिने पनि आयोजक समितिको सचिव मनि लिम्बूले बताए ।

लिगको समुह ‘ए’ मा वाइजिएफटि, शिखर फुटबल क्लब, टेन नवोदय र वाइएफसि रहेका छन् भने समुह ‘बि’ मा देविगञ्ज फुटबल क्लब, न्यू स्टार फुटबल क्लब, द रियल ब्रदर फुटबल क्लब र सिरिजङ्गा फुटबल क्लब रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्