रास्वपा कार्यालय पुग्यो सीआईबीको टोली


काठमाडौं। केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)को टोली रास्वपा पार्टी कार्यालय पुगेको छ। सीआईबीका एसपी होबिन्द्र बोगटीसहितको सीआईबी टोली रास्वपा पुगेको हो। रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी भएलगत्तै प्रहरी उनलाई पक्राउ गर्न पुगेको हो। रवि अहिले पार्टी कार्यालयमा छन्। उनी सम्बोधन गर्ने तयारी गरिरहेका छन्।

कास्की प्रहरीले जिल्ला अदालतबाट रविलाई पक्राउ गर्न अनुमति पाएलगत्तै देशभरका ठुला अपराधको अनुसन्धान गर्ने प्रहरीको युनिट सीआईबी सक्रिय बनेको हो। यतिबेला वनस्थलिस्थित रास्वपा पार्टी कार्यालयमा मानिसहरुको बाक्लो भिड लागेको छ। भिडबाट सीआईबीको टोली सहजै पार्टी कार्यालय प्रवेश गरेको थियो।

लामिछाने निवर्तमान गृहमन्त्री हुन्। दुईपटक गृहमन्त्री बनेका लामिछानेमाथी सहकारीको रकम अपचलन गरेको आरोप छ। ग्यालेक्सी टेलिभिजनको सन्चालक गोरखा मिडियामा सहकारीको रकम ल्याएर अपलचन गरेको आरोपमा कास्की प्रहरीले यतिबेला पूर्व डीआईजी छविलाल जोशीलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

ठगी, संगठित अपराध लगायत कसुरमा उनीमाथि अनुसन्धान गरिरहेको छ। प्रहरीले संगठित अपराधमा बढीमा ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सक्छ। तर जोशी पक्राउ परेको लगभग एक महिना हुन लागेकाले अब पक्राउ पर्नेहरु बढीमा एक महिना मात्र हिरासतमा रहनेछन्।

प्रतिक्रिया दिनुहोस्