हरियाली सामुदायिक वन लिमिटेडको तेस्रो साधारणसभा सम्पन्न 


 कानेपोखरी, असोज २४ ।  मोरङ पथरी शनिश्चरे नगरपालिका २ मा रहेको हरियाली सामुदायिक वन लिमिटेडले आफ्नो तेस्रो साधारणसभा सम्पन्न गरेको छ ।

बुधवार एक औपचारिक कार्यक्रमका बिच वनको सभाहलमा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको प्रमुख अतिथि पुर्व युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले वन र वनक्षेत्रमा रहेको प्राकृतिक स्रोत साधनको संरक्षण, विकास र दिगो व्यवस्थापन गर्दै अगाडि बढिरहेको बताए । उनले भने, ‘लिमिटेडको आर्थिक कारोबार यसपटक घाटामा गएको तर अर्को आर्थिक वर्षमा भने नाफा कमाउनेमा ढुक्क छु’ ।

साधारणसभा वार्षिक प्रतिवेदन समितिका अध्यक्ष दिलबहादुर तामाङले प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएअनुसार आर्थिक वर्ष २०८०/८१ मा संस्थाले १३ लाख भन्दा बढी आर्थिक घाटा व्यहोरेको छ । १ वर्षको अवधिमा १३ लाख ३६ हजार ९ सय ८५ रुपैया घाटा भएको प्रतिवेदन अध्यक्ष तामाङले प्रस्तुत गरेका थिए ।

आम्दानीतर्फ पौडी पोखरीबाट ५ लाख ६ हजार १ सय ५० रकम संकलन, हलभाडा वापत बर्षमा ३ लाख १९ हजार, व्याज आम्दानी ५८ हजार ३ सय ४२ लगायत गरेर बर्षभरीमा ९ लाख ८ हजार ९ सय ९२ रुपैयाँ संकलन हुँदा खर्चतर्फ कर्मचारी तलव २ लाख २७ हजार ८ सय, कम्पनी अद्यावधिक खर्च २ लाख ९७ हजार ७ सय ६०, पोखरीमा केमिकल खरिदमा १ लाख १८ हजार १ सय ५५, विद्युत महसुल खर्च २ लाख ३३ हजार ९ सय ५०, प्राविधिक खर्च १ लाख ६९ हजार ३ तीन सय २५ रुपैयाँ लगायत गरेर २२ लाख ४५ हजार ९ सय ७७ भएको उल्लेख रहेको छ ।

सो अनुसार आय र व्यय हिसाव गर्दा एक आर्थिक वर्षमा १३ लाख ३६ हजार ९ सय ८५ रुपैया घाटा भएको तथ्याङक प्रतिवेदनमा उल्लेख छ ।

सँगसँगै ८०/८१ मा यथार्थ पुँजीगत खर्च पर्यापर्यटकीय संरचना निमार्णतर्फ ५ लाख ८७ हजार ७ सय ३७ रुपैयाँ खर्च हुँदा ८१/८२ मा अनुमानित खर्च १ करोड हुने लक्ष्य संस्थाले राखेको छ । संस्थाले आर्थिक वर्ष ८०/८१ मा १३ लाख ३६ हजार ९ सय ८५ रुपैयाँ घाटा व्यहोरिदाँ २०८१/०८२ मा अनुमानित नाफा ४० लाख ७५ हजार गर्ने लक्ष्य हरियाली वन लिमिटेडको उद्देश्य रहेको छ ।

लिमिटेडले भावी योजना अन्तर्गत हरियाली पार्क घेराबारा गर्ने, वनभोज कटेजहरुको निर्माण गर्ने, बालउद्यान वैज्ञानिक तवरले निर्माण गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुद्वारा बहुसांस्कृतिक कला कृतिहरुको संङ्ग्रालय तथा धिमाल जाति  लगायतको उत्कृष्ट कलाकृतिहरु निर्माण गरिने लगायतका योजनाहरु सार्वजनिक गरेको छ ।

कार्यक्रममा उद्योगी भोलेश्वर दुलाल, हरियाली सामुदायिक वन उपाभोक्ता समूहका अध्यक्ष काबुलबहादुर मगर, कम्पनीको पूर्व सञ्चालक गणेश बाछना, पथरी शनिश्चरे ७ का वडाध्यक्ष उद्घवराज बस्नेत, वडा नं. ३ का वडाध्यक्ष विजय लिम्बु, इलाका प्रहरी कार्यालय लगायतबाट सहभागी रहेका थिए । कार्यक्रम कम्पनीका प्रबन्धक रोहित बास्तोलाले सञ्चालन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्