कालिकोशी फुटबल : मातृभूमी र दम्का बुधे उपाधीका लागि भिड्ने
कानेपोखरी, कार्तिक १२ । दोश्रो कालीकोशी नकआउट फुटबल प्रतियोगिताको उपाधीका लागि मातृभूमी र दम्का बुधे १४ गते भिड्दै छन ।
कालीकोशी युवा समाजद्वारा आयोजित प्रतियोगितामा हिमाल युनाइटेड एफसी बिहीवारेलाई १ – ० गोल अन्तरले हराउँदै मातृभूमी समाजसेवा युवा क्लब, खोरिया फाइनलमा प्रवेश गरेको छ । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ बराबरीमा टुङ्गिदा दुवै टिमबाट राम्रा प्रयासहरु भएका थिए तर प्रयासहरु निरन्तर विफल हुँदै गर्दा खेलको अन्तिम समय ४७ औं मिनेटमा मातृभूमीका लागि निरज ठटालले राम्रो अवसरको सदुपयोग गर्दै उत्कृष्ट गोल गरे । सोपश्चात खेललाई मातृभूमीले दवाबमा राखेपनि अर्को गोल भने हुन सकेन र सोही गोलनै जितका लागि निर्णायक बन्यो । यस खेलबाट म्यान अफ दि म्याच मातृभूमीका निरज ठटाल घोषित भए ।
दोश्रो खेलबाट एमटिसी एफसी, विराटनगरलाई टाइब्रेकरमा ७ – ६ गोल अन्तरले पराजित गर्दै दम्का बुधे एफसी, चिसाँङ फाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा दम्का बुधेलाई एमटिसीले दवाबमा राखेको थियो । दवाबमा राखेपनि धेरै प्रहारहरु विफल बन्दा गोल भने हुन सकेन । सोपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । यस खेलबाट दम्का बुधेका करण थापा म्यान अफ दि म्याच घोषित भए ।
मोरङ, कानेपोखरी गाउँपालिका ५ क्याम्पसडाँडामा स्थित रमाइलो बहुमुखी क्याम्पसको खेलमैदानमा यस खेल सञ्चालन भइरहेको छ । प्रतियोगिताको प्रथम हुने टिमले ५० हजार र दोश्रो हुनेले ३० हजार रुपैयाँँसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समुहका अध्यक्ष खिलराज भट्टराईले बताए ।