लेटाङका लेखा अधिकृत बाँस्तोला कर्मचारी युनियनको केन्द्रीय कोषाध्यक्षमा उठ्दै


मोरङ – मोरङको लेटाङ नगरपालिकाका लेखा अधिकृत सुशील बाँस्तोलाले नेपाल निजामती कर्मचारी युनियनको कोषध्यक्षको लागि उम्मेद्धारी घोषणा गरेका छन् । आसन्न फागुन २१ देखी २३ गतेसम्म हुने केन्द्रीय अधिवेशनका लागि उनले आफू केन्द्रीय कोषाध्यक्ष उठ्ने घोषणा गरेका हुन् ।

खोटाङ जिल्ला साबिकको बुइपा गाबिस वडा नं. ७ हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा जन्मिएका उनी साथै उमेरदेखि मिहिनेती थिए । २०६७ सालमा निजामती सेवामा प्रवेश गरेका उनले निजामती कर्मचारीहरूको हकहितमा काम गर्नका लागि आफ्नो उमेद्दारी रहेको बताउँछन् ।

इमान्दारिता, लगनशील र निरन्तर प्रयासरत रहँदा सफलता हाँसिल हुने तर्क राख्दै उनी भन्छन्, ‘निजामती कर्मचारीहरूको बृत्ति विकासको लागि निरन्तर खटेको छु, सोही अनुसार काम गर्ने तीब्र चाहना भएर उमेद्दारी दिएको हुँ ।’

२०७४ सालमा लेखा अधिकृतमा नाम निकालेका उनी सेवाग्राहीसँग प्रत्यक्ष सेवा प्रवाह, नागरिकले भोगेको समस्याको अनुभव महसुस गरेको बताउँछन् । कोष तथा लेखा नियन्त्रण कार्यालय खोटाङमा कार्यरत रहँदा नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति खोटाङको अध्यक्ष समेत रहेका बाँस्तोला सरुवा भएर धनकुटा गएपछि महाधिवेशन प्रतिनिधि बनेर निजामती कर्मचारीहरूको हकहितको लागि काम गर्दै आएका छन् ।

२०७४ साल फागुनमा महालेखा नियन्त्रक कार्यालयमा रहँदा महाधिवेशन प्रतिनिधि र २०७७ असारदेखि केन्द्रीय सदस्य बनेका बाँस्तोलाले २०७५ सालमा भएको विभेदकारी कर्मचारी समायोजनमा पीडित कर्मचारीहरूको बृत्ति विकासको सवालमा निरन्तर आवाज उठाइरहेको बताए ।

देशमा संघीयता कार्यान्वयनसंगै स्थानीय तहका जनप्रतिनिधिहरू र सेवाग्राहीहरूका अनुभव साटासाट गर्ने अवसर प्राप्त गर्नुले राजनीति र प्रशासनबीचको तादम्यता, समस्या एबं चुनौतीहरूको नजिकबाट अनुभव गर्न पाउनुले आसन्न अधिवेशनको केन्द्रीय कोषाध्यक्षको उम्मेद्धारी घोषणा गरेको उनले बताए । केन्द्रीय अधिवेशनको सर्बसहमतको पक्षमा आफू रहेको र आवश्यकता पर्दा लोकतान्त्रिक प्रणालीमा चुनावी प्रतिष्पर्धामा समेत तयार रहने उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्