‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’ : उद्घाटन खेलमा शिखर एफसी विजयी


पथरी शनिश्चरे, १९ फागुन । मोरङको पथरीशनिश्चरे नगरमा आज बिहिवारदेखि सुरु भएको दोस्रो ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’ को उद्घघाट्न खेल शिखर एफसीले जितेको छ ।
उद्घाटन खेलमा ‘बि एण्ड बि’ वाइजीएफटीलाई १-० गोल अन्तरले पछि पार्दै शिखर एफसीले सुरुवाती जित हात पारेको हो ।

पहिलो हाफ बराबरीमा सकिएको खेलको दोश्रो हाफको ४५ औं मिनेटमा शिखर एफसीका सौराज राउतले १ गोल गर्दै टिमलाई जितको अग्रसरता तर्फ अघि बढाएका थिए । दोश्रो हाफमा दुवै टिमबाट गोलहरूका लागि निकै राम्रो प्रयास भएपनि गोलले जाली भने चुमाउन सकेन । सोही अनुरुप शिखर एफसीका लागि राउतले गरेको गोल नै जितको निर्णायक बन्यो । उद्घाटन खेलको म्यान अफ दी म्याच शिखरका निर्णायक गोलकर्ता राउत घोषित भए । उनले ट्रफी र मेडल सहित नगद ३ हजार रुपैयाँ हात पारे ।

भोलीको खेल टेन नवोदय एफसी र वाइ एफसीका बिच हुँदैछ । टेन नवोदय गत सिजनको विजेता समेत रहेको छ ।

नगर प्रमुख दिलिपकुमार राईको प्रमुख अतिथ्यतामा प्रिमियर लिगको उद्धघाटन भयो ।
उद्घाटन कार्यक्रमको बोल्दैँ दिलिपकुमार राईले नगरमा फुटबल, क्रिकेट र बुद्धिचाल (चेस) लगायतका प्रतियोगिताले स्थानीय खेलाडीको उत्पादन र नगरपालिकाको प्रचारमा टेवा पुग्दै आएको बताए । उनले आगामी दिनमा खेल र खेल क्षेत्रको लागि नगरबाट आर्थिक, भौतिक पक्षबाट अझ सहयोग गरिने समेत सुनाए । कार्यक्रमको विशिष्ट अतिथि अखिल नेपाल फुटबल संघ मोरङ जिल्ला अध्यक्ष दीपेन्द्र धिमालले पथरीशनिश्चरे नगरका खेलाडीहरु नेपालको ए, बी र सी डिभिजनको साथै मोरङ जिल्ला व्यापी फुटबल प्रतियोगतामा प्राय सबै टिममा पथरीशनिश्चरेका फुटबल खेलाडी रहने गरेको बताए ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय पथरीका निमित्त प्रमुख इन्स्पेक्टर कमल राजवंशी, चलचित्र कर्मी (नायक) रमित ढुङ्गाना, पथरी क्याम्पस प्रमुख चेतन पौडेल, पञ्चायत माविका प्रमुख अर्जुन बुढाथोकी, स्थानीय समाजसेवी प्रदिपकुमार राई, भीम राई, कमल हाङबाङ, प्रेम ढकाल, गणेश थक्लुङ, वडा अध्यक्षहरु गोबिन्द भण्डारी, कपिलमणी ढकाल, भलिबल प्रतियोगिता आयोजक समितिका अध्यक्ष रबिन राई लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा रेड स्टार बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीहरुले नगर गितमा नृत्य प्रस्तुत गरेका थिए भने अन्नपुर्ण स्कुलमा बालबालिकाहरु कार्यक्रममा सहभागि रहेका थिए । आयोजक समितिको अध्यक्ष संजिप गिरीको सभापतित्वमा भएको उद्घघाटन खेल अघि लिम्बू समुदायको च्याब्रुङ, राई समुदायको साकेला नृत्य प्रस्तुत भएको थियो ।

‘खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ सुरु भएको प्रतियोगिताको पथरीशनिश्चरे नगरपालिकाको मुख्य सहयोग र इन्ट्रा नेशनल वेलफेर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले टाइटल स्पन्सर गरेको हो । उपाधि हात पार्ने क्लबलाई २ लाख ५१ हजार र दोस्रो हुनेलाई १ लाख ५१ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्रहरु प्रदान गरिने लिग आयोजक समितिको संयोजक संजिव गिरीले बताए । अनुशासित टिमलाई १५ र सर्वोत्कृष्ट खेलाडीलाई १२ हजार पाँच सय प्रदान गरिने पनि आयोजक समितिको सचिव मनि लिम्बूले बताए ।

प्रतिक्रिया दिनुहोस्