उर्लाबारी मेयर कप फुटवल : वडा नम्बर ५ सेमिफाईनलमा प्रबेश


उर्लाबारी, १८ फागुन । उर्लाबारीमा जारी तेस्रो मेयर कप फुटबल प्रतियोगितामा आज वडा नम्बर ५ विजयी हुँदै सेमिफाईनलमा प्रबेश गरेको छ ।

उर्लाबारी–६ स्थित राधिका माविको खेल मैदानमा भएको खेलमा वडा नम्बर २ लाई १ – ० ले हराउँदै वडा नम्बर ५ सेमिफाईनलमा प्रबेश गरेको हो । वडा नम्बर ५ लाई सेमिफाईनलमा पुर्याउन खेलको दोश्रो हाफमा पासाङ तामाङले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो ।

निकै प्रतिष्पर्धात्मक खेलमा वडा नम्बर २ ले गोल गर्ने अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो चरणबाटै बाहिरिन बाध्य भएको हो । सेमिफाईनलमा अब वडा नम्बर ५ ले वडा नम्बर ६ सँग खेल्नेछ । प्रतियोगितामा भोली वडा नम्बर ७ र ८ बीच खेल हुनेछ । फागुन २३ गतेसम्म संचालन हुने प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ७५ हजार, उपविजेताले १ लाख १५ हजारसहित दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका सचिव भिष्म बुढाथोकीले जानकारी दिनुभयो ।

यसैबीच मेयर कप फुटबल प्रतियोगिताबाट वडा नं. ४ लाई हटाइएको छ । उर्लाबारी वडा नं. १ लाई २ का विरुद्ध ४ गोल गर्दै वडा नं. ४ विजयी भएको थियो । तर, वडा नंं. ४ ले बाहिरका खेलाडी खेलाएको भन्दै उजुरी परेको थियो । सो छानविनको क्रममा मिक्लाजुङका उर्गेन तामाङलाई वडा नं. ४ बाट खेलाइएको पाइएको छ । सोही आधारमा वडा नं. ४ सेमिफाइनलमा पुग्न अयोग्य भएको भन्दै वडा नं. १ लाई विजयी भएको आयोजक समितिका कोषाध्यक्ष योगराज फागोले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्