धरानमा बुढासुब्बा गोल्डकप प्रतियोगिता चैत २६ देखि


सुनसरी । २३ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिता आगामी चैत २६ गतेदेखि बैशाख ३ गतेसम्म आयोजना हुने भएको छ । आयोजक धरान फुटवल क्लवले बुधबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारी सुरु गरिएको जानकारी दिएको छ ।

प्रतियोगिता सुनसरीको धरान १६ स्थित सुविधा सम्पन्न रंगशालामा आयोजना गरिने भएको छ । २०५५ सालदेखि नियमित सञ्चालन हुँदै आएको प्रतियोगिता मोफसलकै उत्कृष्ट फुटवल प्रतियोगिता मानिन्छ ।

गत वर्ष कोरोना महामारीका कारण स्थगित भएको प्रतियोगिता यस बर्ष कोरोना कम भएकाले सञ्चालन गर्न लागिएको धरान फुटवल क्लवका अध्यक्ष किशोर राईले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । उहाँले प्रतियोगिता सम्पन्न गर्नका लागि आर्थिक संकलन गर्न थालिएको समेत बताउनुभयो ।

अध्यक्ष राईका अनुसार प्रतियोगितामा भारतका उत्कृष्ट तीन टिम, ए डिभिजन लिग विजेता, उपविजेता सहित उत्कृष्ट तीन टिम, आयोजक धरान फुटवल क्लव र मोफसलका उत्कृष्ट अन्य दुई टीमलाई सहभागी गराइने छ ।

प्रतियोगिताको विजेतालाई नगद १० लाख र उपविजेतालाई ५ लाख पुरस्कार उपलब्ध गराइने भएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद एकलाख ५० हजार र सर्वाधिक गोलकर्ताले २० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिड फिल्डर, स्ट्राईकर र प्रशिक्षकले जनही १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने कोषाध्यक्ष बुढाथोकीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्