उर्लाबारी मेयर कप फुटबल : वडा नं. ४ सेमिफाईनलमा


उर्लाबारी, १७ फागुन । मोरङको उर्लाबारीमा सञ्चालित तेस्रो मेयर कप फुटबल प्रतियोगिताअन्तर्गत आजको खेलमा वडा नं. ४ विजयी भएको छ । वडा नं. १ लाई ४–२ गोल अन्तरले पराजित गर्दै वडा नं. ४ सेमिफाइनलमा प्रवेश गरेको हो ।

प्रतिस्पर्धात्मक खेलको छैटौं मिनेटमा वडा नं. १ का संयोग गौतमले गोल गर्दै आफ्नो टिमलाइ अग्रता दिलाएका थिए । तर, त्यसको दुई मिनेटमै वडा नं. ४ का अनिल तिम्सिनाले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । २० औं मिनेटमा संयोग गौतमले नै वडा नं. १ का लागि दोस्रो गोल गरे । पहिलो हाफको थपिएको समयमा वडा नं. ४ का सुजन थापामगरले गोल गरेपछि पहिलो हाफ बराबरीमा टुंगिएको थियो ।

दोस्रो हाफमा आक्रामक खेल खेलेको वडा नं. ४ ले दुई गोल थप्यो । उक्त वडाका रोहन भट्टराई र किरण सुनारले गोल गरे । प्रतियोगिताको म्यान अफ द म्याच वडा नं. ४ का किरण सुनार घोषित भए । उनलाई नगद ३ हजारसहित ट्रफी वडा नं. १ का वडाध्यक्ष मचिन्द्रकुमार कार्कीले प्रदान गरे ।

प्रतियोगिता अन्तर्गत भोलिको खेल वडा नं. ५ र वडा नं. २ बीच हुने आयोजक उर्लाबारी फुटबल क्लबका सचिव भीष्म बुढाथोकीले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद १ लाख ७५ हजार र उपविजेताले नगद १ लाख १५ हजारसहित दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका कोषाध्यक्ष योगराज फागोले बताए ।

प्रतिक्रिया दिनुहोस्