लेटाङ बालिका बलात्कारपछि हत्या प्रकरण : बुबालाई सुनाउँछु भनेपछि हत्या गरे


विराटनगर – प्रहरीले मोरङको लेटाङ नगरपालिका–८ मा बलात्कारपछि बालिकाको हत्या गरेको आरोपमा पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गरेको छ । १२ वर्षीय बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका लेटाङ–८ का ६४ वर्षीय दीपक गिरीलाई पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो ।

लेटाङ नगरपालिका–८ की १२ वर्षीया बालिकालाई गिरीले बलात्कारपछि पोल खुल्ने डरले हत्या गरेको प्रहरीले बताएको छ । बुधबार साथीसँग स्कुल आएकी १२ वर्षीय करुणा राई स्कुल सकिएपछि एक्लै घरतर्फ लागेकी थिइन । जाँते माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत उनको घर स्कुलबाट दुई घण्टाको पैदल दुरीमा पर्छ ।

बुधबार साढे ४ बजे स्कुल छुट्टी भएपछि एक्लै घर गएकी उनलाई बाटोमा लेटाङ–८ का ६४ वर्षीय दीपक गिरीले पिछा गरे । जङ्गलको बाटो हिँड्ने क्रममा आधा बाटो पुगेपछि छोटो बाटो भन्दै उनले जङ्गलभित्र लगेको प्रहरीले बताएको छ ।

जङ्गलभित्र पुगेपछि गिरीले बालिकालाई यौन सम्पर्कको प्रस्ताव गरेका थिए । तर उनले मानिनन् । नमानेपछि गिरीले जबरजस्ती करणी गरे । जबरजस्ती करणीपछि बालिकाले बुबालाई भन्दिन्छु भन्दै भागेपछि गिरीले समातेका थिए । पोल खुल्ने डरले उनले बालिकाको घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए ।

‘बाटोमा एक्लै देखिपछि गिरीले पछ्याउँदै गएका थिए,’ उनले भने,‘जङ्गलको बीचमा पुगेपछि बालिकालाई फकाइफुल्याई गरी भित्रको बाटोबाट जाँदा छोटो पर्छ भन्दै बालिकालाई लगे, केही पर पुगेपछि शारीरिक सम्पर्कको लागि प्रस्ताव गरे ।’ तर बालिकाले शारीरिक सम्पर्कको प्रस्ताव अस्वीकार गरेपछि गिरीले जबरजस्ती करणी गरेका थिए ।’ जबरजस्ती करणीपश्चात बालिकाले आफूमाथि भएको घटना बुबालाई भन्दिन्छु भन्दै दौडिएपछि पोल खोल्न सक्ने डरले गिरीले घाँटी थिचेर हत्या गरेको प्रहरी उपरीक्षक जिसीले बताए ।

बालिकाको घरदेखि तीन किलोमिटर दक्षिण लेटाङ नगरपालिका– ८ लाल हिरा सामुदायिक वनमा शव ढुङ्गाले छोपी मृतावस्थामा फेला परेको प्रहरी उपरीक्षक जिसीले बताए । बालिकाको हत्यापछि शवलाई ढुङ्गाले छोपेका गिरीले उनले लगाएको कपडा गिरीले आफ्नो घर छेउको खोल्सोमा जलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्