लेटाङको जङ्गलमा भेटियो बालिकाको शव, बलात्कारपछि हत्याको आशङ्का


लेटाङ, १३ फागुन । ​​​​​​​मोरङको लेटाङ नगरपालिका–८ ज्यामिरे टोलकी १२ वर्षीया करुणा राईको शव खाल्डो खनेर वनभित्र गाडिएको अवस्थामा भेटिएको छ । स्थानीय लालहीरा सामुदायिक वनभित्र गाडेको अवस्थामा शुक्रबार बिहान उनको शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मञ्जिल मुकारुङले जानकारी दिए ।

उनका अनुसार खाल्डोभित्र नाङ्गो अवस्थामा उनको शव भेटिएको हो । प्रहरीले उत्खनन गरेर उनको शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउन लागेको छ ।

गत बुधबार दिउँसोबाट बेपत्ता उनी जाँते माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत थिइन् । स्कुलबाट घर फर्किनेक्रममा बेपत्ता भएपछि खोजी गर्नका लागि परिवारका सदस्यले प्रहरीलाई आग्रह गरेका थिए । खोजी गर्ने क्रममा शव गाडेर माथिबाट ढुङ्गाले छोपेको अवस्थामा शव भेटिएको हो ।

इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक रोमन अर्याल नेतृत्वको टोलीले उत्खनन गर्दा शव भेटिएको हो । प्रहरीका अनुसार बालिकाको शरीरका विभिन्न भागमा चोट छ । अहिले पनि लेटाङ प्रहरीले घटनास्थलमै रहेर अनुसन्धान गरिरहेको छ ।

बलात्कारपछि हत्या गरेर उनको शव गाडिएको हुनसक्ने प्रहरीको आशङ्का छ । प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा दुई जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । स्थानीय ६४ र ४७ वर्षीय पुरुषलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको डिएसपी मुकारुङले जानकारी दिए ।

नाम नुखलाइएका उनीहरूको घर बालिका विद्यालय जाने बाटो र सामुदायिक वनको छेउमा पर्छ । पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि घटनाका बारेमा यकिन हुने प्रहरीले जनाएकाे छ ।

यता, प्रहरीले खाल्डोबाट बालिकाको शव उत्खनन गरेर बाहिर निकाल्दा घटनास्थल तनावपूर्ण बनेको थियो । करिब पाँच सयको सङ्ख्यामा भेला भएका स्थानीयले नाराबाजी र प्रदर्शन गरेर घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्