गैंडा छाप सिमेन्टको बजारमा माग उच्च, सहजै पाउन नसकिएको गुनाशो


उर्लाबारी, ७ फागुन । उदयपुर सिमेन्ट उद्योगले उत्पादन गर्दै आएको गैंडा छाप सिमेन्टको बजारमा माग उच्च भएपनि सहज रुपमा पाउन नसकिएको उर्लाबारीमा आज आयोजित एक कार्यक्रमका सहभागीले गुनाशो गरेका छन् ।

नेपाल सरकारको स्वामित्वमा रहेको २०४४ सालमा स्थापित उदयपुर सिमेन्ट उद्योगले गैंडा छाप सिमेन्ट उत्पादन गर्दै आएको छ । अभि ट्रेडर्स उर्लाबारीले आज आयोजना गरेको प्रबद्र्धन सम्बन्धी अन्र्तरक्रिया कार्यक्रममा सहभागीहरुले सो उद्योगले उत्पादन गर्दै आएको गैंडा सिमेन्टको बजारमा अत्याधिक माग भएपनि सहजै पाउन नसकिएको गुनाशो गरेका छन् ।

उर्लाबारी उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष जंगबहादुर कार्की, स्वतन्त्र निर्माण मजदुर व्यवसायी संघ उर्लाबारीका अध्यक्ष मनोज लुईटेल, उर्लाबारी नगरपालिकाका इञ्जिनियर हिमांशु देव लगायतले गैडा सिमेन्टरको गुणस्तरमा कुनै शंका नरहेपनि बजारमा सहज आपुर्ति गराउन उद्योगलाई सुझाब दिनुभएको थियो । कार्यक्रममा उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले यसअघि दैनिक १० हजार बोरा सिमेन्ट उत्पादन हुँदै आएकोमा आफु नियुक्ति भएर कार्यभार सम्हालेपछि दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन हुँदै आएको बताउनुभयो । उहाँका अनुसार गैडा छाप सिमेन्ट १ नम्बर प्रदेश, मधेश प्रदेश र बाग्मती प्रदेशका बजारमा आपुर्ति हुँदै आएको छ । प्राज्ञिक क्षेत्रको समेत अनुभव रहनुभएका न्यौपानेले सरोकारवाला सबैको सुझाव लिएर घाटा न्यूनिकरण गर्दै सिमेन्टको प्रबद्र्धनमा जोड दिनुभएको छ ।

कार्यक्रममा उद्योगका गुणस्तर नियन्त्रण विभागका प्रमुख असलबहादुर देवानले सिमेन्टको उत्पादन र गुणस्तरका विषयमा सहजिकरण गर्नुभएको थियो । उर्लाबारीमा गैँडा छाप सिमेन्टको माग अत्याधिक रहेपनि पुर्ति गर्न नसकिएको उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहनुभएका अभि ट्रेडर्सका संचालक शेरबहादुर भण्डारीले बताउनुभएको छ । कार्यक्रममा उर्लाबारीमा रहेका निर्माण व्यवसायी, इञ्जिनियर, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्