एमाले सधैँ संवैधानिक सर्वोच्चताको पक्षमा छ : अध्यक्ष बस्नेत
विराटनगर। नेपाल खेलकुद महासङ्घका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले एमाले सधैँ संवैधानिक सर्वोच्चताको पक्षमा रहेको बताउनु भएको छ। आज विराटनगरमा महासङ्घ विराटनगर महानगरपालिका कमिटीले संविधान दिवसको अवसरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै बस्नेतले पार्टी सधैँ संवैधानिक सर्वोच्चताको पक्षमा रहेकोले संविधानका लागि मर्न समेत तयार रहेको बताउनु भएको हो।
बस्नेतले ०७२ सालमा एमालेको अग्रसरतामा संविधान निर्माण हुँदा संविधान निर्माण र घोषणा रोक्न लागेका अन्तर्राष्ट्रिय शक्ति एमालेलाई कमजोर बनाएर राष्ट्र एकता, स्वाधीनता, सार्वभौमसत्ताको विरुद्धमा चलखेल गर्ने खेलमा लागेको बताउँदै त्यस विरुद्ध एमालेले एकताबद्ध ढंगले प्रतिकार गर्ने धारणा व्यक्त गर्नु भएको थियो। उहाँले जेन-जीको पवित्र आन्दोलनमा घुसपैठियाहरूले खेलेको भन्दै घुसपैठियाहरूको पहिचान र कानून अनुसार कारबाही हुने समेत बताउनु भएको थियो।
एमाले केन्द्रीय सदस्य जीवन घिमिरेले नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान रहेकोले जेन-जी पुस्ताले संविधानको अध्ययन गर्दै संविधानलाई जोगाउन भूमिका खेल्नु पर्ने बताउनु भयो। घिमिरेले एमाले अध्यक्ष केपी शर्मा ओलीको अग्रसरतामा बनेको संविधान समावेशी, समानुपातिक र जनताको अधिकार सुनिश्चित गर्ने दस्ताबेज रहेकोले संविधान विरुद्धका गतिविधिलाई निस्तेज पार्नु पर्ने धारणा व्यक्त गर्नु भएको थियो।
अन्तरक्रियामा बोल्दै एमाले मोरङ उपाध्यक्ष सागर थापाले जेन-जी आन्दोलनमा विदेश शक्तिको योजनामा विद्यार्थीलाई निधार र छातीमा गोली हानिएको बताउँदै आन्दोलनको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिनु भएको थियो। त्यस्तै, एमाले महानगर अध्यक्ष बलराम गिरिले संविधानको रक्षा गर्दै संविधानको माध्यमबाट सुशासन, पारदर्शिता कायम गर्न सकिने बताउनु भएको थियो।
खेलकुद महासङ्घका महानगर कमिटी अध्यक्ष जतिन ताम्राकारको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रम पश्चतात जेन-जी आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शहीदहरूको सम्झनामा दीप प्रज्वलन समेत गरिएको महासङ्घ महानगर सचिव विशाल बानियाँले जानकारी दिनु भयो।