प्रतिनिधि सभा पुनर्स्थापना गर्न खेलकुद महासंघको माग, पुनर्निर्माणमा हातोमालो गर्न कार्यकर्तालाई आग्रह
विराटनगर। नेकपा एमालेको जनसंगठन नेपाल खेलकुद महासंघले राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिनिधि सभा विघटनको निर्णय खारेज गर्दै प्रतिनिधि सभा पुनर्स्थापना गर्न माग गरेको छ। शनिबार भर्चुअल रुपमा सम्पन्न महासंघको १० औँ पदाधिकारी बैठकले राष्ट्रपतिसँग संवैधानिक सर्वोच्चता कायम गर्दै संविधानले देखाएको मार्गबाट नयाँ सरकार निर्माणको पहल गर्न र प्रतिनिधि सभा पुनर्स्थापना माग गरेको हो।
महासंघका अध्यक्ष पर्शुराम बस्नेतले राष्ट्रपति संविधानको संरक्षक र पालनकर्ता समेत भएकोले संविधानको मर्म र सर्वोच्च अदालतको नजिर विपरित प्रतिनिधि सभा विघटन र नयाँ सरकारको गठन प्रक्रिया मान्य नहुने बताउँदै संविधान विपरितको कार्यबाट उत्पन्न हुने प्रतिक्रियाको राष्ट्रपति पौडेल स्वयम् जिम्मेवार हुनुपर्ने बताउनु भएको छ।
बैठकले जेन-जी पुस्ताको आन्दोलनमा घुसपैठ भएको निष्कर्ष निकाल्दै सिंहदरबार, सर्वोच्च अदालत, शीतल निवास लगायतका देशैभरीका सरकारी कार्यलय, निजी सम्पत्ति र विभिन्न राजनीतिक पार्टीका कार्यलयहरूमा भएको आगजनी तथा तोडफोडमा संलग्न अराजक र विध्वंशकारी तत्त्वलाई कानुनी दायरामा ल्याउन समेत माग गरेको छ।
त्यस्तै, बैठकले महासंघका कार्यकर्ताहरूलाई सरकारी भवन र पार्टीको भवन पुनर्निर्माण तथा सरसफाईमा निस्वार्थ भावमा स्वयम् सेवा गर्न समेत आग्रह गरेको छ। अध्यक्ष बस्नेतले महासंघले ०७२ सालको भूकम्प र विगतका भूकम्प तथा बढीपहिरोमा देशको विभिन्न स्थानमा महासंघले पुनर्निर्माण र राहत कार्यमा गरेको स्वयम् सेवाको स्मरण गर्दै कठिन समय पुन: राष्ट्र निर्माणमा हातोमालो गर्न कार्यकर्ताहरूलाई आग्रह गरिएको जानकारी दिनु भयो।