झापाबाट ९२ जना थुनुवा फरार, सेनाको सहयोगमा खोजी तीव्र
झापा । जेनजी आन्दोलनले हिंसात्मक रूप लिएपछि झापामा प्रहरी नियन्त्रणमा रहेका ९२ जना थुनुवा भाग्न सफल भएका छन् । आन्दोलनकारी समूहले विभिन्न इलाका प्रहरी कार्यालयहरूलाई लक्षित गर्दै आक्रमण गरेपछि गम्भीर र जघन्य अपराधमा संलग्न थुनुवा भागेका थिए । प्रहरीका अनुसार थुनुवा भगाउने उद्देश्यले नै आक्रमण गरिएको थियो ।
प्रहरी प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार इलाका प्रहरी कार्यालय दमकबाट ५१ जना, अनारमनीबाट ३६ जना र झिलझिलेबाट ५ जना गरी जम्मा ९२ जना थुनुवा फरार भएका हुन् । आन्दोलनमा संलग्न प्रदर्शनकारीले प्रहरी परिसर घेराउ गर्दै ढुंगामुढा, आगजनी र तोडफोड गरेपछि प्रहरीलाई नियन्त्रणमा लिन कठिनाइ भएको र त्यसकै मौका छोपेर थुनुवाहरू भागेको उनले बताए ।
भागेकामध्ये धेरैजना हत्या, बलात्कार, लागुऔषध कारोबार, चोरी तथा ठगीजस्ता गम्भीर मुद्दामा अनुसन्धान वा कारबाहीको क्रममा रहेका थिए । थुनुवा फरार भएपछि जिल्ला प्रशासन कार्यालय झापाले तत्काल सुरक्षा निकायसँग समन्वय गरी नियन्त्रणमा लिने तयारी थालेको छ ।
नेपाली सेनाको सहयोगमा फरार थुनुवाको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । झापामा अराजकता र अशान्ति फैलिन नदिने उद्देश्यले प्रशासनले उच्च सतर्कता अपनाएको छ ।