कांग्रेस र एमाले कोशी प्रदेशको आह्वान : ‘समस्याको संविधानसम्मत् शान्तिपूर्ण समाधान खोजौं’
विराटनगर । जेनजी आन्दोलनपछि मुलुकमा उत्पन्न परिस्थितिको सामना गर्दै समस्याको शान्तिपूर्ण समाधान खोज्न नेपाली कांग्रेस र नेकपा (एमाले) कोशी प्रदेशले आह्वान गरेका छन् । दुवै दलले अलगअलग विज्ञप्ति जारी गर्दै भदौ २३ र २४ गते जेनजी युवाहरूले सञ्चालन गरेको आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली प्रकट गरेका छन् । आन्दोलनका क्रममा भएका हिंसात्मक घटना र त्यसपछिको अवस्थाका बारेमा दुवै दलले गहिरो चासो र चिन्ता व्यक्त गरेका छन् । आन्दोलनका क्रममा देखिएका हिंसा, आगजनी र दमनप्रति चिन्ता व्यक्त गर्दै कांग्रेस र एमालेले शान्ति, संयम र लोकतान्त्रिक मूल्यलाई कायम राख्न आग्रह गरेका छन् ।
कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले बिहीबार विज्ञप्ति जारी गर्दै आन्दोलनमा जीवन गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् । आन्दोलनका नाममा पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेतृ तथा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालगायतका नेता र उनीहरुको निवासमा आक्रमण, कांग्रेसका कार्यालयमा तोडफोड तथा सार्वजनिक सम्पत्तिमा आगजनी हुनु दुःखद भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कांग्रेसले घटनालाई योजनाबद्ध विध्वंसको परिणाम भएको उल्लेख गर्दै सत्यतथ्य छानबिन गरी सरकारले दोषीमाथि कारबाही गर्नुपर्ने माग राखेको छ । साथै, पार्टीले सबै तहका नेता–कार्यकर्तालाई संयमता अपनाउँदै शान्ति र लोकतान्त्रिक मूल्यमा विश्वास गर्न आह्वान गरेको छ ।
यता, एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडा र सचिव राजकुमार भण्डारीले बुधबार विज्ञप्ति जारी गर्दै जेनजी पुस्ताको आन्दोलनलाई लोकतान्त्रिक अधिकारको प्रयोग भनेका छन् । आन्दोलनमा अनावश्यक दमनलाई भएको ठहर पनि एमाले कोशीले गरेको छ । एमालेले घटनाको स्वतन्त्र र निष्पक्ष छानबिनको माग गरेको छ ।
आन्दोलनमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्य लाभको काम गर्दै एमालेले आन्दोलनमा बाह्य शक्तिको घुसपैठ र उद्देश्यविपरीतका हिंसात्मक गतिविधि भएको भन्दै चिन्ता प्रकट गरेको छ । पार्टीले जनप्रतिनिधिमाथि धम्की, राजीनामाका लागि दबाब, सार्वजनिक सम्पत्ति तोडफोडजस्ता गतिविधि स्वीकार्य नहुने स्पष्ट पारेको छ ।