झुम्का कारागारमा ज्वरोको महामारी, एक सातामा तीनको मृत्यु


विराटनगर । रामधुनी नगरपालिका–५ स्थित क्षेत्रीय कारागार झुम्कामा फैलिएको ज्वरोको महामारीका कारण एक साताको अवधिमा तीन जनाको मृत्यु भएको छ । भाइरल ज्वरोको प्रकोप समयमा नियन्त्रण हुन नसक्दा कारागारमा रहेका तीनजनाको मृत्यु र बन्दी तथा थुनुवा गरी ४ सय बढी प्रभावित भएको कारागार प्रशासनले जनाएको छ ।

झुम्का कारागारमा पछिल्लो एक साताको अवधिमा तीन जनाको मृत्यु भएको छ । भाइरल ज्वरोको सङ्क्रमणका कारण एक साताको अवधिमा तीन जनाको मृत्यु भएको कारागारका निमित्त जेलर राम निरौलाले बताउनु भयो । भाइरल ज्वरोबाट प्रभावित भएका ४ सयमध्ये १३ जना सिकिस्त भएपछि उनीहरूलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरी उपचार भइरहेको निमित्त जेलर निरौलाले बताउनु भयो ।

झुम्का कारागारमा कैद भुक्तान गरिरहेका भोजपुरको हतुवागढी गाउँपालिका–८ स्थायी घर भइ धरान उपमहानगरपालिका–१२ मा बस्दै आएका २८ वर्षीय विकास राईको भदौ ४ गते मृत्यु भएपछि कारागारमा रहेकाहरूको मृत्युको क्रम बढेको हो । कारागारमा भाइरल ज्वरोका कारण सङ्क्रमित भएकामध्ये भदौ १७ गते धरान उपमहानगरपालिका–१० का २४ वर्षीय सागर राई र गढी गाउँपालिका–६ का ४८ वर्षीय रामदेव उरावको उपचारका क्रममा भदौ १७ गते मृत्यु भएको थियो । भाइरल ज्वरोबाट सङ्क्रमित सप्तरीको राजविराज नगरपालिका–८ का ४६ वर्षीय जलेश्वर यादवको भदौ १८ गते उपचारका क्रममा मृत्यु भएको थियो ।

कारागारमा भाइरल ज्वरोले महामारीको रूप लिएपछि सुनसरीका प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रको निर्देशनमा भदौ १८ गतेदेखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट चिकित्सकको टोली झिकाएर झुम्का कारागारभित्र स्वास्थ्य शिविर सञ्चालन गरिएको कारागारका निमित्त जेलर राम निरौलाले बताउनु भयो ।

झापा, मोरङ र सुनसरी कारागारका १४ जनाको मृत्यु

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को तथ्याङ्क अनुसार आठ महिनाको अवधिमा झापा, मोरङ र सुनसरीका कारागारमा रहेका १४ जनाको मृत्यु भइसकेको छ । राज्यको नियन्त्रण र सुरक्षा घेरामा रहेकाहरूको मृत्यु प्रतिदिन बढ्दै गएपछि कारागार सुधारगृहका रूपमा रूपान्तरण हुन नसकेको देखिएको छ ।

इन्सेक अभिलेखका आधारमा ०८१ पुस १७ गतेदेखि भदौ १८ गतेसम्मको अवधिमा कारागारमा रहेका १४ जनाको मृत्यु भएको छ । सो अवधिमा सबैभन्दा बढी मोरङ कारागारका आठ जनाको मृत्यु भएको छ । सुनसरी कारागारमा रहेका पाँच जना र झापा कारागारमा रहेका एक जना गरी आठ महिनाको अवधिमा १४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्