खेलकुद महासंघद्वारा विधान महाधिवेशनलाई सुझाव पेस, ओलीबिनाको एमाले कल्पना गर्न नसकिने धारणा
काठमाडौँ। नेपाल खेलकुद महासंघले नेकपा एमालेको दोस्रो विधान महाधिवेशनलाई सुझाव पेस गरेको छ। आज एमालेको केन्द्रीय कार्यालय च्यासलमा महासंघका अध्यक्ष पर्शुराम बस्नेतको नेतृत्वमा गएको टोलीले एमालेका महासचिव शंकर पोखरेललाई सुझाव पेस गरेको हो।
महासंघले सुझाव पेस गर्दै वर्तमानको राजनीतिक अवस्थामा एमालेबिनाको मुलुक र अध्यक्ष केपी शर्मा ओलीबिनाको एमाले कल्पना गर्न नसकिने उल्लेख गरेको छ। महासंघले केन्द्रीय कमिटीले २ कार्यकाल र ७० वर्षे उमेरहद हटाउने निर्णय गरिसकेकोले उक्त प्रस्तावलाई स्वीकार गरि विधान संसोधन गर्नु पर्ने सुझाव पेस गरेको छ।
त्यस्तै, महासंघले एमालेका अध्यक्ष ओलीलाई ‘समृद्ध नेपाल सुखी नेपाल’ अभियानका परिकल्पनाकार र राष्ट्रवादी राजनेताको रुपमा सम्बोधन गर्दै विधान महाधिवेशनबाट २०८४ को आमनिर्वाचनमा ओलीको नेतृत्वमा एकल बहुमतको सरकार बनाउने लक्ष्य पूरा हुने विश्वास लिएको छ।
पूर्वराष्ट्रपति विद्या भण्डारी राजनीतिमा सक्रिय हुने कुरा चलिरहँदा महासंघले राष्ट्रपति जस्तो राष्ट्रको अभिभावक भैसकेको व्यक्तिले पुन: पार्टी राजनीतिमा फर्किने कुरा सुहाउँदो नहुने भन्दै भन्दै सम्मानित पदमा रहन उपयुक्त हुने सुझाव दिएको छ।
महासंघका अध्यक्ष बस्नेतले विधान महाअधिवेशनबाट ‘एक पालिका एक सामुदायिक खेल मैदान’, ‘एक प्रदेश, एक आधुनिक रङ्गशाला निर्माण’, खेलाडीहरूलाई छात्रवृत्ति र निशुल्क बिमा, अपांगतामैत्री स्पोर्ट्स कम्प्लेक्सको निर्माण जस्तै खेलकुद सम्बन्धी कार्यक्रमलाई पार्टीको दस्तावेज तथा घोषणापत्रमा समेट्नु पर्ने सुझाव समेत पेस गरेको जानकारी दिनु दियो।