बक्राहा घाट बनाउन स्थानीयले दिए ४ विघा जग्गा


उर्लाबारी, ४ फागुन / मानव जीवनको मृत्युपछिको अन्तिम संस्कार गर्ने आर्यघाट निर्माणका लागि मोरङको उर्लाबारीका स्थानीयले ४० वर्षदेखि चर्चेको ४ विघा जमिन स्थानीय सरकारलाई दिएका छन् । २०३६ सालदेखि जोतभोग गर्दै आएका स्थानीय ३५ जना जग्गाधनीहरुले नगरपालिकालाई व्यवस्थित बक्राहा घाट निर्माणका लागि जग्गा दिन तयार भएपछि उर्लाबारीमा मोरङ जिल्लाकै ठूलो र व्यवस्थित आर्यघाट बन्ने भएको छ ।

जग्गा अभावकै कारण अलमलमा परेको योजनालाई सार्थकता दिन मेयर खड्ग फागोको सक्रियतामा ४० वर्ष अगाडिदेखि जोतभोग गर्दै आएका स्थानीयहरु बक्राहा घाट निर्माणका लागि आफूले चर्चेको जमिन दिन तयार भएपछि योजनाले पूणर्ता पाउने भएको हो । घाट निर्माण गर्न उर्लाबारी नगरपालिकाको टोली र स्थानीय जग्गादाताहरुको उपस्थितिमा बुधबार ४ विगाहा जग्गा छुट्याएर डिपिआरका लागि प्रक्रिया अगाडि बढाइएको जग्गा व्यवस्थापन समितिका संयोजक विनोद दाहालले बताए ।

उर्लाबारीमा व्यवस्थित घाट नहुँदा पूर्वपश्चिम राजमार्गसँगै जोडिएको स्थानमा शव जलाउने गरिएको छ । सो स्थानमा दाहसंस्कार गर्दा मलामीका कारण बाटोमा यात्रा गर्नेहरुले समेत सास्ती खेप्दै आएको देखेर आफूले चर्चेको जमिन भएपनि सबैको सहजताका लागि नगर प्रमुखको अनुरोध अनुसार पालिकालाई दिएको स्थानीय जग्गादाता गोपाल कटुवाल बताउछन् ।

बक्राहा नदीमा दिनमा औसत ३/४ वटा शव अन्त्येष्टिका लागि ल्याउने गरिएको भएता पनि व्यवस्थित घाट नहुँदा जथाभाबी रुपमा शव जलाउनाले नदी किनारमा बसोवास गर्ने समुदायको जनस्वास्थ्यमा असर पर्नुका साथै नदीको सौन्र्दयता र बरिपरिको वातावरण समेत दुषित र दुर्घन्धित बनेको देखेपछि नगरपालिकाको अनुरोधमा जग्गा दिन तयार भएको जग्गादाता लोकबहादुर कटुवालको भनाई छ । उर्लाबारी नगरपालिकाको गौरबको योजनाका रुपमा लिएको बक्राघाट निर्माणको काम जग्गा अभावका यस अघि अगाडि बढ्न सकेको थिएन ।

यसपटक भने स्थानीय जग्गा दिन सहमत भएपछि व्यवस्थित घाट निर्माणको प्रक्रियामा नगरपालिका लागेको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोको भनाइ छ । मेयर फागोका अनुसार उर्लाबारीको बढ्दो जनसंख्या र जनघनत्वलाई मध्यनजर गर्दै आगामी १ सय वर्षसम्मका लागि सहज हुने गरिको सात वटा साधारण प्रकारको र ३ वटा विद्युतीय शव जलाउने स्थान, किरियापुत्री बस्ने घर, धार्मिक महत्व बोकेका बोटविरुवाहरुको बगैचा निर्माण र प्रशस्त पार्किङ सहितको आधुनिक बक्राहा घाट निर्माण हुने छ । नगरपालिकाले घाट निर्माणका लागि चालु आर्थिक वर्षमा ७० लाख रुपैयाँ विनियोजन गरेको छ ।
विनियोजित रकमबाट घाट निर्माणको काम अगाडि बढाउने र क्रमागत रुपमा विकास गर्दै आधुनिक घाट निर्माण गरी नदी किनारको पर्यावरण र जनस्वास्थ्यमा परेको असरलाई न्युनीकरण गर्ने लक्ष्य नगरपालिकाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्