सनम शाक्य हत्या प्रकरण : उर्लाबारी घर भएका थप एक अभियुक्त पक्राउ


विराटनगर । मोरङ उर्लाबारीका सनम शाक्य हत्या तथा सुन तस्करीको अभियोगमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उर्लाबारी – ५ घर भएका ३९ वर्षीय सञ्जिव खड्का रहेका छन् । उनलाई काठमाडौँको गौशालाबाट पक्राउ गरेर मोरङ ल्याइएको मोरङका प्रहरी प्रमुख जनार्दन जिसिले जानकारी दिए । खड्का दुबईमा बसेर नेपालतिर तस्करीको सुन पठाउने गिरोहका सदस्य रहेको प्रहरीको दाबी छ ।

उनलाई आजै अदालतमा पेस गरिएको छ । खड्कासँग अदालतले बिहीबार बयान लिनेछ । जिल्ला अदालत मोरङले सुन तस्करी एवं सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दाको फैसला गत असोज १९ गते गरेको थियो । ५६ अभियुक्तमध्ये अदालतले सुन तस्करी र शाक्य हत्या प्रकरणमा जोडिएका आठ जनालाई दोषी ठहर गर्दै र ४८ जनालाई सफाइ दिएको थियो । अदालतले कर्तव्य ज्यान मुद्दामा आठ जनालाई दोषी ठहर गर्दै ६ जनालाई जन्मकैदको सजाय सुनाएको थियो ।

दुबईबाट २०७४ साल माघ ९ गते तस्करी गरेर काठमाडौं ल्याएको साढे ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निकाल्ने क्रममा गायब बनाएको आरोपमा गोरेको समूहले २०७४ साल फागुन १८ गते सनमको हत्या गरेको हो । त्यसको अनुसन्धान गर्दा सन् २०१५ जुलाईदेखि २०१६ अगस्टसम्ममा दुबईदेखि नेपालमा लगभग ३८ क्विन्टल सुन तस्करी भएको पत्ता लागेको दाबी सरकार पक्षको थियो ।

प्रतिक्रिया दिनुहोस्