वडाबासीको सेवामा तत्पर कान्छो जनप्रतिनिधि रविन लामा


उर्लाबारी, ३ फागुन । उर्लाबारी नगरपालिका – ५ का वडा सदस्य रविन लामा ३१ वर्ष पुग्नुभयो । २०७४ साल असारमा भएको स्थानीय तहको निर्वाचनमा वडा सदस्य पदमा विजयी हुँदा उहाँ २७ वर्षको मात्र हुनुहुन्थ्यो ।

उर्लाबारी नगरकै कान्छो जनप्रतिनिधिका रुपमा परिचित लामाले वडा सदस्यमा निर्वाचित भएको ५ वर्ष पुग्नै लाग्दा वडाबासीको मन जित्न सफल हुनुभएको छ । वडाबासीको मतबाट वडा सदस्य बन्नुभएका लामाले नागरिकको मतको पनि कदर गर्दै मन पनि जित्न सफल हुनुभएको हो । उहाँ नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । वडा अध्यक्षसहित अन्य तीन जना सदस्य नेपाली काँग्रेसबाट बिजयी हुँदा एमालेबाट लामा मात्र निर्वाचित हुनुभएको हो । नगर प्रमुख खड्ग फागोदेखि काँग्रेस केन्द्रीय तहसम्म रहेका काँग्रेसका हस्तीहरुको वडामा लामाले मात्र एमालेबाट बाजी मार्नुभएको थियो । सानैदेखी कम्युनिष्ट राजनितिमा लाग्नुभएका लामा कक्षा ११ मा अध्ययन गर्दागर्दै एमालेको भातृ संगठन युवा संघ उर्लाबारीको अध्यक्ष बन्नुभएको थियो । दुई कार्यकालसम्म युवा संघ उर्लाबारीको अध्यक्ष बन्नुभएका लामाले उर्लाबारीमा युवा संघलाई परिचित र चलायमान बनाउन महत्वपुर्ण भुमिका खेल्नुभएको छ । लामालाई अझैँ पनि उर्लाबारीमा युवा संघको मेरुदण्डको रुपमा चिनिन्छ ।

एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघको केन्द्रीय सदस्य, युवा संघको जिल्ला सदस्य रहनुभएका लामा युवा संघको नेतृत्वमा रहँदा होस् या जनप्रतिनिधि रहँदा पनि युवाहरुलाई चलायमान बनाउन र सामाजिक कार्यमा सहभागी गराउन महत्वपुर्ण भुमिका खेल्दै आउनुभएको छ । स्थानीय तहको निर्वाचनमा एमालेबाट वडा सदस्यमा निर्वाचित भएपछि लामाले पार्टीगत विभेद नगरी वडाबासीको सेवा तत्पर रहनुभयो । काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष भएपनि उहाँसँग सहकार्य गर्दै वडाको विकाशमा लागि पर्नुभयो । लामाको काम गर्ने तत्परताकै कारण समय–समयमा कार्यवाहक वडाध्यक्षको भूमिका समेत निर्वाह गर्नुभयो । वडाको विकाशका लागि लामाकै पहलमा प्रदेश सरकार र संघीय सरकारको सहयोगमा सडक निर्माण तथा कालोपत्रे समेत गरिएको छ ।

स्थानीय तहका जनप्रतिनिधिको यो कार्यकालमा दुई वर्षसम्म त कोरोना महामारीको त्रास रह्यो । कोरोना महामारी नियन्त्रणमा स्थानीय जनप्रतिनिधिले खेलेको भूमिकाको सर्वत्र प्रशंसा हुने गरेको छ । कोरोनाको महामारीमा लामा संक्रमितलाई अस्पतालसम्म पुर्याउने र घरमै पौष्टिक आहार पुर्याउने काममा सक्रिय रहनुभयो । २४ जना वडाका गम्भिर विरामीलाई पिपिई लगाएर उहाँ आफैले अस्पताल पुर्याउनुभएको थियो । मेरो वार्ड मेरो सुरक्षा भन्ने अभियान नै चलाएर उहाँ कोरोना संक्रमण नियन्त्रण र उपचारका खटिनुभएको थियो । युवा समुह नै बनाएर वडा सदस्य लामाले कोरोना संक्रमितको घर–घरमै पुगेर पौष्टिर आहार वितरण गर्नुभयो । कोरोना महामारीको अति जोखिमको समयमा उहाँले वडाबासीको सेवामा देखाएको तत्परताको प्रशंसा हुँदै आएको छ । पहिलो पटक कोरोनाको जोखिम भित्रिन लाग्दा उहाँकै पहलमा उर्लाबारीको गोदावारी हस्पिटलमा ४ बेडको आईसोलेसन बनाईएको थियो । लामाकै पहलमा कोरोना भित्रिनै लाग्दा माक्स वितरण र सचेतना कार्यक्रमदेखी ठाउँठाउँमा हात धुने बुथ पनि स्थापना गरिएको थियो ।

वडा र नगरको समस्या तथा विचारहरु नगरसभा मार्फत उहाँले खुलेरै राख्दै आउनुभएको छ । नगर कार्यपालिकाले नदेखेका वडाभित्रका समस्या मात्र होईन उहाँले नगरका अन्य वडाका समस्यालाई समेत नगरसभामा उठाउने गर्नु हुन्थ्यो । सो वडामा उचित ढल निकास नहुँदा बर्खाको समयमा पानीलाई निकास दिन पनि उहाँ सक्रिय रहनुभयो । वर्खाको समयमा खोलाले दुख दिँदा उहाँ बिहान ४ बजेदेखी नै जनताको साथमा खटिने गर्नुहुन्थ्यो । उर्लाबारी –मधुमल्ला सडक खण्ड कालोपत्रेका लागि स्थानीयले गरेको आन्दोलनमा लामा आफैँ अगाडी बढेर स्थानीयबासीलाई साथ दिनुभएको थियो । सो सडक खण्ड कालोपत्रेका लागि लामा आफैँ ब्यक्तिगत रुपमा प्रदेशको मन्त्रालयसम्म पुग्नुभएको थियो ।

वडाभित्र मात्र होईन उर्लाबारी नगरकै युवाहरुमाँझ लोकप्रीय लामाकै नेतृत्वमा यहाँ थुप्रै सांगतिक तथा खेलकुद कार्यक्रम पनि हुँदै आएका छन् । स्वास्थ्य, सामाजिक, खेलुकुद, मनोरञ्जन, व्यापार व्यवसाय लगायतका क्षेत्रमा युवा पुस्तालाई समेट्दै लामाले अघि बढाउँदै लैजानु भएको छ । ब्यापारमा युवा साथी भाईहरुसँगै अघि बढ्नुपर्छ भन्ने भावका साथ उहाँले प्रेरितसमेत गर्दै आउनुभएको छ । लामा गुड डे यातायात एण्ड अटो प्रालि उर्लाबारीको अध्यक्ष समेत रहनुभएको छ । उहाँले बिभिन्न क्षेत्रमा २५ जनालाई प्रत्यक्ष रोजगार समेत दिनुभएको छ ।

वडामा बृक्षरोपणदेखी हरेक विकाश निर्माणका काममा प्रत्यक्ष सहभागी हुने गरेका लामाको एमालेजनले मात्र होईन अन्य पार्टीका नेता कार्यकर्ताले पनि सराहना गर्दै आएका छन् । स्नातकसम्म अध्ययन गर्नुभएका लामा नीतिगत र भिजनमा स्पष्ट ब्यक्तित्वमा रुपमा चिनिनु भएकाले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको दाबेदारको रुपमा समेत रहनुभएको छ । पार्टीभित्र मात्र हैन, प्रतिष्पर्धी पार्टीदेखी युवा, जेष्ठ नागरिकसम्म लोकप्रीय रहेका लामा उर्लाबारी ५ मा वडाध्यक्षको बलियो उम्मेद्वारको रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्