कानेपोखरीमा पहिलोपटक राष्ट्रियस्तरको सिएच आइटिएफ तेक्वान्दो च्याम्पियनसिप हुँदै 


कानेपोखरी, वैशाख ७ । नेपाल सिएच आइटिएफ तेक्वान्दो संघ, कोशी प्रदेशको आयोजनामा १० औं नेपाल सिएच आइटिएफ तेक्वान्दो च्याम्पियनसीप प्रतियोगिता हुने भएको छ ।

शनिवार एक पत्रकार सम्मेलनको आयोजना गर्दै सो प्रतियोगिता आउँदो जेठ १५, १६ र १७ गते मोरङको कानेपोखरी गाउँपालिका–६ स्थित जनसेवा माध्यमिक विद्यालयको खेल मैदानमा हुने जनाइएको हो ।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ स्थापित संघले तेक्वान्दो खेलमार्फत स्वस्थ, शिक्षित र अनुशासित नागरिक उत्पादन गर्ने लक्ष्य लिएको छ। यस प्रतियोगितामा २५ जिल्लाबाट करिब ४५० जना सहभागी हुने आयोजकहरूले जनाएका छन्। सहभागीहरूमध्ये ३५० जना खेलाडी, ५० जना रेफ्री, १० जुरी, १० अफिसियल, तथा ३० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायक रहनेछन् ।

पुरुष र महिला दुवै तर्फ सिङ्गल फाइट, ग्रुप फाइट, सिङ्गल प्याटन र ग्रुप प्याटन विधामा प्रतिस्पर्धा हुने छ। पुरुष तर्फ २० केजीदेखि ९० केजी र महिला तर्फ २० केजीदेखि ८० केजीसम्मको तौल समूहमा प्रतिस्पर्धा हुने जनाइएको छ।

संघले हालसम्म २२ जना ब्ल्याक बेल्ट वान डान, २ जना टु डान र २ जना थ्री डान खेलाडी उत्पादन गरेको छ। प्रदेशभर खेलाडी संख्याको हिसाबले तेह्रथुमको आठराई गाउँपालिकाबाट ७० जना र मोरङको उर्लाबारी, कानेपोखरी र रंगेलीबाट १२० जना खेलाडीहरु सक्रिय छन्।

प्रतियोगिता आयोजना गर्न झण्डै ८ लाख ७० हजार रुपैयाँको अनुमानित लागत लाग्ने बताइएको छ। यसका लागि स्थानीय सरकार, संघसंस्था, खेलप्रेमी र दाताहरूसँग सहयोगको अपेक्षा गरिएको सम्मेलनमा जनाइएको छ।

कार्यक्रमको सफल आयोजनाका लागि संघका अध्यक्ष युवराज भूजेल (ब्ल्याक बेल्ट थ्री डान) र सचिव दिनेश सुब्बा लिम्बु नेतृत्वमा तयारी कार्य तीव्र पारिएको छ। आयोजकले सम्पूर्ण अभिभावक, सञ्चारकर्मी, संघसंस्था र खेलप्रेमीहरूप्रति सहयोगको अपेक्षा गर्दै नयाँ वर्ष २०८२ को शुभकामना व्यक्त गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्