हाम्रो बचत उर्लाबारीका व्यवस्थापक खड्का सहकारी कर्मचारी माेरङकाे अध्यक्ष


उर्लाबारी/ मोरङ जिल्लाभरीबाट प्रतिनिधिमुलक रूपमा उपस्थित सहकारी कर्मचारीहरूको भेलाबाट सहकारी कर्मचारी संगठन, मोरङ गठन भएको छ ।
जिल्ला बचत तथा ऋण सहकारी संघ लि.मोरङको सभाहल बेलबारीमा बसेको भेलाले हाम्रो साकोस, उर्लाबारीका व्यवस्थापक चक्र खड्काको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा रमाईलो जनएकता साकोस, कानेपाोखरीका व्यवस्थापक कृष्णकुमारी अधिकारी दवाडी, सचिवमा लर्ड बुद्ध साकोस, पथरी शनिश्चरेका व्यवस्थापक गणेशकुमार राई, सह–सचिवमा एकीकृत जनभावना साकोस, लेटाङका सह–व्यवस्थापक टंकबहादुर मच्कोटी र कोषाध्यक्षमा सिसौली साकोस, बेलबारीका व्यवस्थापक शान्ता ढुंगाना रहनु भएको छ ।
त्यसैगरी ६ जना सदस्यहरूमा क्रमशः जिल्ला बचत तथा ऋण सहकारी संघ लि.मोरङका व्यवस्थापक केदारनाथ दुलाल, राष्ट्रसेवक साकोस, विराटनगरका प्रबन्धक कृष्ण भट्टराई, कनकलक्ष्मी साकोस, सन्दरहरैचाका व्यवस्थापक गोपाल देउजा, बलुवाही साकोस, बेलबारीका व्यवस्थापक ताराबहादुर राई, सूर्यज्योति साकोस, सुन्दरहरैचाबाट वाथकुमारी दाहाल (वविता) र उत्साही साना किसान कृषि सहकारी संस्था लि., पथरी शनिश्चरेका प्रबन्धक आईतकुमारी तुम्वापो (राई) रहनु भएको छ ।

राष्ट्रिय सहकारी बैङ्क लि., विराटचौक शाखा प्रमुख मनोज लामिछाने र जिल्ला बचत तथा ऋण सहकारी संघ लि., मोरङका कार्यक्रम अधिकृत रामकुमार दाहालको समेत उपस्थिती रहेको बैठकले गणेशकुमार राईको संयोजकत्वमा टंकबहादुर मच्कोटी र ताराबहादुर राई सदस्य रहेको ३ सदस्यीय विधान मस्यौदा समिति समेत गठन गरेको छ ।
जिल्ला बचत तथा ऋण सहकारी संघ लि., मोरङको व्यवस्थापक केदारनाथ दुलालको अध्यक्षतामा बसेको बैठकले जिल्ला सहकारी संघ लि., मोरङको आयोजनामा चैत्र २० गते विराटनगरमा हुन लागेको ६८ औं राष्ट्रिय सहकारी दिवसलाई सफल बनाउनको लागि आआफ्नो पालिकास्तरमा व्यापक प्रचारप्रसार गर्दै सक्रिय रूपमा सहभागिता जनाउने र सहभागिता जनाउनको लागि आव्हान गर्ने प्रस्ताव समेत पास गरको छ ।

प्रतिक्रिया दिनुहोस्