उर्लाबारीमा माओवादी केन्द्र विभाजित, समानान्तर कमिटी गठन


उर्लाबारी, २७ माघ । उर्लाबारीमा नेकपा माओवादी केन्द्र विभाजित भएको छ । असन्तुष्ट समहुले छुट्टै समानान्तर नगर कमिटी गठन गरेपछि माओवादी विभाजित भएको हो ।

गत नगर अधिवेशनबाटै असन्तुष्ट रहेको एक समूहले तोर्ण श्रेष्ठको संयोजकत्वमा समानान्तर नगर कमिटी गठन गरेको हो । श्रेष्ठले कमिटी गठन भएको स्वीकार गरेपनि समानान्तर भन्न चाहनु भएन । पार्टीभित्र विचलन आएकोले यसलाई व्यवस्थित गर्न आफूहरु संगठित भएको उहाँले बताउनुभयो । बुधबार उर्लाबारी–४ मा हिरालाल देवकोटाको घरमा भएको भेलाले सचिवमा मोहन खनाललाई चयन गरेको छ ।

श्रेष्ठ नेकपा माओवादी केन्द्र उर्लाबारीका निवर्तमान अध्यक्ष हुनुहुन्छ । माओवादी केन्द्रको नगर अधिबेशनमै विवाद भएपछि कुर्सी तोडफोड नै भएको थियो । पार्टीमा असन्तुष्ट समुहले निकै लामो समयदेखी छुट्टै छलफल समेत गर्दै आएको थियो ।

यता, माओवादी केन्द्र नगर कमिटी अध्यक्ष गजेन्द्र दंगालले समानान्तर कमिटी गठनका विषयमा आफूलाई औपचारिक जानकारी नभएको बताउनुभयो। ‘कमिटी गठन भएको हल्ला सुनेँ’ उनले भने, ‘यदि गठन भएको हो भने उहाँहरुले गलत गर्नुभयो । समस्या भए बसेर सल्लाह गर्नुपर्छ ।’ पार्टी विधि र पद्दतिभन्दा बाहिर जानेलाई पार्टीले कारबाही गर्ने उहाँले बताउनुभयो ।

समानान्तर कमिटी गठन गर्नु पार्टी हित विपरीत भएको बताउँदै माओवादी केन्द्र उर्लाबारीका प्रचार संयोजक सरोज बस्नेतले सल्लाह गर्नुपर्ने बेलामा हल्ला गर्नुको कुनै तुक नभएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्