फुटबल प्रतियोगिता : दोश्रो दिनको खेलमा मातृभूमी र दमक विजयी 


कानेपोखरी, असोज ०६ । दोश्रो नकआउट फुटबल प्रतियोगिताको दोश्रो दिन मंगलवार सम्पन्न खेलमा मातृभूमी समाज सेवा युवा क्लब र दमक डाकिनी वारियर्स फुटबल क्लबले जित हात पारेको छ ।

कालीकोशी युवा समाजद्वारा आयोजित प्रतियोगिताको पहिलो खेलमा उज्ज्वल भविष्य बाल क्लव, कानेपोखरी ६ लाई १-० गोल अन्तरले हराउँदै मातृभूमी समाज सेवा युवा क्लबले पहिलो जित हात पारेको हो ।

मातृभूमीका लागी खेलको सुरुवातमै टिम क्याप्टेन राज कटुवालले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । सोपश्चात् दुवै टिमबाट गोलको प्रयास भएपनि बलले जाली भने चुमाउन सकेन । मातृभूमिले गरेको पहिलो गोलनै निर्णायक बन्दै पहिलो खेल मातृभूमीले आफ्नो पोल्टोमा पार्‍यो । पहिलो खेलबाट मातृभूमीका गोलकर्ता राज कटुवाल म्यान अफ दि म्याच घोषित भए।

दोश्रो खेलमा केचना फुटबल क्लबलाई दमक डाकिनी वारियर्स फुटबल क्लबले १ का विरुद्ध २ गोल गर्दै खेल जितेको छ । खेलको ८ औं र १६ औं मिनेटमा कमल धिमालले पहिलो र दोश्रो गोल गरेका थिए भने खेलको २४ औं मिनेटमा केचनाका लागि अमन राईले सान्त्वना गोल फर्काए पनि जितका लागि पर्याप्त हुन सकेन । दोश्रो खेलबाट म्यान अफ दि म्याच गोलकर्ता कमल धिमाल चुनिए ।

मोरङ, कानेपोखरी गाउँपालिका ५ क्याम्पसडाँडामा स्थित रमाइलो बहुमुखी क्याम्पसको खेलमैदानमा यस खेल सञ्चालन भइरहेको छ ।

प्रतियोगिताको प्रथम हुने टिमले ५० हजार र दोश्रो हुनेले ३० हजार रुपैयाँँसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समुहका अध्यक्ष खिलराज भट्टराईले बताए ।

प्रतियोगितामा केचना एफसी, नव प्रतिभा एफसी, दम्का बुधे एफसी, आयोजक, उज्ज्वल भविष्य बाल क्लब, मातृभूमि समाज सेवा, केचना एफसी, दमक एफसी, हिमाल युनाइटेड एफसी, योङ बोइज एफसी, हरकपुर स्पोर्ट्स क्लब लगायत गरि १६ टिम सहभागी भएका छन ।

खेल अवधीभरिबाट समापनको दिन वेष्ट गोलरक्षक, हाई स्कोरर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, अनुशासित खेलाडी, म्यान अफ दि टुनामेन्ट जस्ता विद्यागत पुरस्कार र ट्रफीले पुरस्कृत गरिने आयोजक समितिका अध्यक्ष भट्टराईले सुनाए । हरेक दिन दुई खेल दिनको ठिक २ बजेबाट सुरु हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्