अहिलेको अभावलाई सम्बोधन गर्ने गरी मौद्रिक नीति आउने अर्थमन्त्री पौडेलको जनाउ


काठमाडौं, साउन ७ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अभावलाई सम्बोधन गर्ने गरी मौद्रिक नीति आउने प्रष्ट पार्नुभएको छ । नेपाल होटल संघ (हान) का पदाधिकारीसँग आज मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री पौडेलले यस्तो जनाउ दिनुभएको हो ।

उहाँले मौद्रिक नीतिमा छलफल भइरहेको र केही दिनभित्रै मौद्रिक नीति आउने जानकारी पनि दिनुभयो । यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबारे आवश्यक छलफल गरेर सञ्चालन गर्ने जानकारी पनि उहाँले दिनुभयो । होटललाई उद्योगको मान्यता दिने कुरामा सरकार गम्भीर रहेको भन्दै अर्थमन्त्री पौडेलले नीतिको निरन्तरता हुन नसक्दा समस्या देखिएको बताउनु भयो ।

‘प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकै सरकारको पालामा बजेटमा होटललाई उद्योग क्षेत्रको मान्यता दिने भनेर लिएर आएको हो । त्यसको निरन्तरता हुनुपर्दथ्यो । नीति निरन्तरताको धेरै ठूलो अर्थ हुन्छ’, अर्थमन्त्री पौडेलले भन्नुभयो । भेटमा हानका अध्यक्ष विनायक साहले ३०/३५ लाख पर्यटकलाई सेवा दिनसक्ने भए पनि बर्सेनि १० लाखभन्दा बढी पर्यटक नआएको भन्दै धेरैभन्दा धेरै पर्यटक आउने वातावरण मिलाउन अर्थमन्त्रीसमक्ष सुझाव दिनुभयो ।

शाहले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चाँडोभन्दा चाँडो सञ्चालनमा ल्याउन पनि आग्रह गर्नुभयो । यसैगरी सडक पूर्वाधारहरु सुरक्षित नहुँदा पनि पर्यटकहरु नेपाल आउन नचाहने गरेको जानकारी पनि शाहले दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्