पाँच दलीय गठबन्धन संबिधान समाप्त पार्ने दिशामा : योगेश भट्टराई


सुमन घिमिरे
उर्लाबारी, १३ माघ । नेकपा एमालेका सचिव योगेश भट्टराईले अपाकृतिक पाँच दलीय गठबन्धन संबिधानलाई समाप्त पार्ने दिशामा अघि बढेको बताउनुभएको छ ।

नेकपा एमाले उर्लाबारी नगर कमिटिले आज बिहान आयोजना गरेको अगुवा कार्यकर्ता भेला कार्यक्रममा बोल्दै सचिव भट्टराईले स्थानीय तहको निर्वाचन नगरेर बर्तमान गठबन्धन संबिधान समाप्त पार्न लागेको आरोप लगाउनुभयो । सचिव भट्टराई संघियताको जग नै स्थानीय तह भएकाले यसलाई रिक्त बनाएर स्थानीय तहलाई संघीय सरकारको छाँया बनाउने प्रयास भईरहेको बताउनुभयो ।

बैशाखमा स्थानीय तह निर्वाचन भएमा अधिंकाश स्थानमा एमाले विजयी हुने देखिएकाले बर्तमान सरकार निर्वाचन सार्न लागिपरेको बताउनुभयो । स्थानीय तहमा एमाले अझैँ पनि मजबुत रहेकाले बर्तमान गठबन्धनको सरकार स्थानीय तहलाई कमजोर बनाएर संबिधानलाई समाप्त पार्ने कसरतमा लागेको बताउनुभयो । उहाँले अपाकृतिक रुपमा निर्माण भएको पाँच दलीय गठबन्धन अब चाँडै नै भत्किने समेत बताउनुभयो ।

उहाँले स्थानीय तहको निर्वाचन जसरी भएपनि हुने बताउँदै उर्लाबारी नगरपालिकाको प्रमुख, उपप्रमुखसहित बहुमत जित्ने गरी आजैबाट लाग्न स्थानीय पार्टी कमिटीलाई उहाँले निर्देशन समेत दिनुभयो । आगामी २०७९ वर्ष निर्वाचन वर्ष भएकाले संबिधानको रक्षाका लागि तीनै तहको निर्वाचनमा एमालेको जित आवश्यक रहेको बताउनुभयो । कार्यक्रम नेकपा एमाले उर्लाबारी नगर कमिटी अध्यक्ष गंगाप्रसाद बाँस्तोलाको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्