विद्यालयस्तरीय फुटबलको उपाधि सुनपकुवा माविलाई



उर्लाबारी – उर्लाबारीमा सम्पन्न दोस्रो अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधि सुनपकुवा माविले जितेको छ । सोमबार सम्पन्न फाइनल खेलमा शुभकामना बोर्डिङ स्कुललाई १–० गोल अन्तरले पराजित गर्दै सुनपकुवाले लगातार दोस्रो पटक उपाधि जितेको हो । सुनपकुवाका लागि शोभित विश्वकर्माले निर्णायक गोल गरेका थिए । गत वर्ष पनि सुनपकुवाले नै उपाधि जितेको थियो ।

हरियाली बाल क्लब उर्लाबारी–२ को आयोजनामा स्थानीय डुम्रेस्थित खेलमैदानमा सम्पन्न प्रतियोगिताका विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीलाई समापन कार्यक्रमका प्रमुख अतिथि उर्लाबारी नगरपालिकाकी उपप्रमुख मीना खतिवडा पौडेल, वडा नं. २ का वडाध्यक्ष राजन कँडेल, वडा नं. ३ का वडाध्यक्ष भीष्मराज बुढाथोकी, कार्यपालिका सदस्य सीता बुढाथोकी, मोरङ जिल्ला फुटबल संघका अध्यक्ष सन्जीव बुढाथोकीलगायतले ट्रफी, मेडल प्रदान गरेका थिए ।
उपाधिसँगै सुनपकुवा माविले नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र साथै उपविजेता शुभकामना बोर्डिङले नगद ६ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै, फाइनल खेलको म्यान अफ द म्याच सुनपकुवा माविका अनिस भुजेल घोषित भए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सुनपकुवा माविका रुपेश धिमाल, वेष्ट स्ट्राइकर सुनपकुवाकै शोभित विश्वकर्मा, उत्कृष्ट गोलकिपर शुभकामना बोर्डिङका विषेश माझी, वेष्ट डिफेन्डर शुभकामनाकै नरजित घिमाल, हाइ स्कोरर शुभकामनाकै प्रयास डाँगीले ट्रफी प्राप्त गरे । यस्तै, वेष्ट मिडफिल्डर मोरङ मोडलका अन्जिल बोहोरा र फेयर प्ले अवार्ड पशुपति आमाविले प्राप्त गरेको छ । आयोजक हरियाली बाल क्लबका अध्यक्ष सक्षम भण्डारीले प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्