अन्तर विद्यालय फुटबल : दुर्गा मावि र सुनगाभा विजयी


उर्लाबारी – ग्रासरुटदेखि नै खेलाडी उत्पादन गर्ने उद्देश्यले उर्लाबारी—२ स्थित डुम्रेको खेल मैदानमा जारि नगर स्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा दुर्गा मावि र सुनगाभा विजयी भएको छ ।

मंगलबार दुर्गा मावि र हिमचुली बोर्डिङ् स्कुलबिच भएको खेलमा दुर्गा मावि ५-४ को अन्तरले ट्राईब्रेकरमा विजयी भएको हो । निर्धारित समयमा दुवै टिमले कुनै गोल गर्न नसकेपछि खेल ट्राईब्रेकरमा गएको थियो । उक्त खेलको म्यान अफ दि म्याच हिमचुलीका टिम कप्तान सागर लावती घोषित भए ।
यस्तै आजै सुनगाभा बोर्डिङ् र पशुपति आवसीय माविबिच भएको दोस्रो खेलमा सुनगाभा २-० को अन्तरले विजयी भएको छ । टिम कप्तान सुशान्त लिम्बुले गरेको २ गोलले उनले सुनगाभालाई विजयी गराए । उनी उक्त खेलको म्यान खफ दि म्याच घोषित भए ।

यस्तै प्रतियोगिताको तेस्रो दिन बुधबार दुई खेल आयोजना गरिने क्लबका अध्यक्ष महेश भण्डारी( सक्षम) ले जानकारी दिए । उनका अनुसार भोलीको पहिलो र दोस्रो खेल क्रमश: सुनपकुवा मावि र होलिचायल्ड बोर्डिङ्बिच र मोरङ् मोडेल बोर्डिङ् र भृकृटी बोर्डिङ्बिच हुनेछ ।
प्रतियोगितामा उर्लाबारीका सामुदायिक र निजी गरी १३ वटा विद्यालयहरूको सहभागिता रहेको छ । उक्त प्रतियोगीतामा कक्षा १० सम्मका विद्यार्थीहरूले मात्र भाग लिन पाउनेछन् ।

प्रतियोगितामा विजेता र उपविजेता लाई क्रमशः नगद १० हजार, ६ हजार सहित शिल्ड, प्रमाण पत्र र पदक प्रदान गरिने आयोजक क्लबका अध्यक्ष भण्डारीले बताए ।

दोस्रो संस्करणको उक्त प्रतियोगिताका लागि स्थानीय सरकार, संघ संस्था र विभिन्न दाताहरुको सहयोग रहेको क्लबका सचिव विशाल भण्डारीले बताए ।
प्रतियोगिताको फाइनल खेल जेठ २२ गते हुने बताईएको छ । यस्तै फाइनलअघि भेट्रान खेलाडीहरुको ‘च्यारिटी म्याच’ खेलाइने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्