उर्लाबारीमा अन्तर विद्यालय फुटबल प्रतियोगिता उद्घाटन


उर्लाबारी- ग्रासरुटदेखि नै खेलाडी उत्पादन गर्ने उद्देश्यले उर्लाबारी—२ स्थित डुम्रेको खेल मैदानमा नगर स्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिता सुरु भएको छ । सोमबार उर्लाबारी नगरपालिकाकी उपप्रमुख मिना खतिवडा पौडेलको प्रमुख आतिथ्यमा उक्त प्रतियोगिताको उद्घाटन गरिएको छ ।

उद्घाटन कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्ने क्रममा उनले नगरपालिकाको आयोजनामा गरिनुपर्ने कार्यक्रम हरियाली बाल क्लबले गरेकोमा धन्यवाद व्यक्त गरिन् । उनले लागुऔषध दुर्व्यसनिमुक्त समाज बनाउने प्रयास खेलकुद भएको बताउदै खेलकुद क्षेत्रको समग्र विकासको लागि नगरपालिका लागिपरिरहेको बताईन् ।

उर्लाबारी—३ को शुभकामना बोर्डिङ् स्कुल र हिमालय बोर्डिङ्बिच प्रतियोगिताको आज भएको उद्घाटन खेलमा ४-० को फराकिलो अन्तरले शुभकामना विजयी भएको छ । शुभकामनाको तर्फबाट जर्सी नम्बर ९ का प्रयास डाँगी एक्लैले ४ गोल गरेका थिए । उनी म्यान अफ दि म्याच घोषित भए ।

यस्तै प्रतियोगिताको दोस्रो दिन मंगलबार दुई खेल आयोजना गरिने क्लबका अध्यक्ष महेश भण्डारी( सक्षम) ले जानकारी दिए । उनका अनुसार भोलीको पहिलो र दोस्रो खेल क्रमश: दुर्गा मावि र हिमचुली बोर्डिङ्बिच र पशुपति आवासीय मावि र सुनगाभा बोर्डिङ्बिच हुनेछ ।

प्रतियोगितामा उर्लाबारीका सामुदायिक र निजी गरी १३ वटा विद्यालयहरूको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगीतामा कक्षा १० सम्मका विद्यार्थीहरूले मात्र भाग लिन पाउनेछन् ।

प्रतियोगितामा विजेता र उपविजेता लाई क्रमशः नगद १० हजार, ६ हजार सहित शिल्ड, प्रमाण पत्र र पदक प्रदान गरिने आयोजक क्लबका अध्यक्ष भण्डारीले बताए ।

दोस्रो संस्करणको उक्त प्रतियोगिताका लागि स्थानीय सरकार, संघ संस्था र विभिन्न दाताहरुको सहयोग रहेको क्लबका सचिव विशाल भण्डारीले बताए ।

प्रतियोगिताको फाइनल खेल जेठ २२ गते हुने बताईएको छ । यस्तै फाइनलअघि भेट्रान खेलाडीहरुको ‘च्यारिटी म्याच’ खेलाइने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्