लेटाङमा पाहुना आएका साथीको हत्या


मोरङ, २७ पुस । मोरङको लेटाङ नगरपालिका– २ फँडानीमा एक पुरुषको सोमबार राती हत्या भएको छ । ६० वर्षीय प्रेमबहादुर बुढाथोकीको हत्या भएको हो । हत्या आरोपमा प्रहरीले राति ८१ वर्षीय डम्बरबहादुर भुजेललाई पक्राउ गरेको छ ।

बुढाथोकीको शव भुजेलको आँगननजिकै भेटिएको थियो । बेलुका घरबाट शव घिसारेर बाँसघारीसम्म लैजाँदै गर्दा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीय शिक्षक राजेन्द्र खतिवडाका अनुसार बुढाथोकीको टाउकोमा बन्चरोको पछाडिपट्टिको भागले हानेको जस्तो देखिन्छ ।

मृतक बुढाथोकी केही दिनयता हत्या आरोपी भुजेलको घरमा बसेका थिए । सोमबार बेलुका उनीहरूले सँगै मदिरा सेवन गरेको स्थानीयले बताएका छन् । मदिरा सेवनपछि उनीहरूबीच विवाद भएको र विवादपछि बन्चरो प्रहार गरी हत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्