मोरङमा सहकारी संघको निर्वाचनमा ५ दलीय गठबन्धन पराजित,एमाले उम्मेद्वार विजयी


विराटनगर, २६ पुस । जिल्ला सहकारी संघ लिमिटेड मोरंगको अध्यक्षमा डिल्ली पोखरेल निर्वाचित हुनु भएको छ । उहाँले अध्यक्षका प्रत्यासी वीरेन्द्र यादवलाई २९ मत अन्तरले पराजित गर्नुभएको थियो । पोखरेलले १५६ मत प्राप्त गर्नुभयो भने यादवले १२७ मत ल्याउनु भएको थियो । ५ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

पोखरेललाई पराजित गर्न ५ दलीय सत्ता गठबन्धन एक भएका थिए । पोखरेल एमालेको उम्मेदवार भएको भन्दै एकिकृत समाजवादीका नेता यादवलाई जिताउन काँग्रेस, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी लगायतका दलहरु एक भएका थिए । चौतर्फी घेरावन्दीकावीच पनि पोखरेल निर्वाचित हुन सफल भएका छन् ।

अध्यक्षमा निर्वाचित पोखरेलले भने आफ्नो जित सम्पूर्ण सहकारी कर्मीहरुकोे जित रहेको बताउनुभयो । सहकारी संघको लेखा समिति संयोजकमा दुर्गाप्रसाद गौतम १४९ मत सहित विजयी भए । लेखासमिति संयोजकको अर्का उम्मेदवार गणेशप्रसाद निरौलाले १२३ मत ल्याउँदा गौतम २६ मतले विजयी भएका हुन् । यस्तै महिला सदस्यतर्फ सीता शर्मा दाहाल र संगिता दाहाल विजयी भइन् । सीता शर्माले १३९ र संगिताले १४१ मत प्राप्त गरिन् ।

यसैगरि मतदानमा महिला सदस्यका उम्मेदवार माया ओझाले १३३, तुलसी कुँवर बिष्टले ११० मत प्राप्त गरेका थिए । सञ्चालक समिति सदस्य खुलातर्फ भने कमलेश्वर ठाकुर, विजयकुमार सरदार, उमेश गुरुङ, जीवन काफ्ले, चन्द्रप्रसाद भट्टराई, प्रभात खड्का, ऋषिराज पौडेल, हेडम्बराज भट्टराई र मिराकुमारी दाहाल हिरा विजयी भएका छन् ।

बरिष्ठ उपाध्यक्षमा विजय माझी, महिला उपाध्यक्षमा पार्वता बराल, सचिवमा राकेश दाहाल, सह‒सचिवमा युवराज भट्टराई र कोषाध्यक्षमा अमृत गुरुङ निर्विरोध निर्वाचित भएका थिए । शनिबार अध्यक्ष, सञ्चालक र लेखा संयोजक पदमा निर्वाचन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्