सिर्जनशील भई सीप सिकेर महिलाहरू आत्मनिर्भर बन्नुपर्छ : उपमेयर भण्डारी


उर्लाबारी, २५ पुस । उर्लाबारी नगरपालिका उप-प्रमुख लक्ष्मीदेवी भण्डारीले महिलाहरूले सिर्जनशील, लगनशिल भई विभिन्न सीप सिकेर आत्मनिर्भर बनी परनिर्भरताको अन्त्य गर्न आग्रह गर्नुभएको छ ।

उर्लाबारी नगरपालिकाको सभा हलमा आइतबार उर्लाबारी नगरपालिकालको आयोजनामा सञ्चालित ३ महिने आधारभूत सिलाइकटाइ तालिम र २ महिने एडभान्स सिलाइकटाइ कार्यक्रमको उद्घाटन कार्यक्रममा भण्डारीले सो आग्रह गर्नु भएको हो । नगरपालिकाले उद्यमी बनि आत्मनिर्भर बन्न बिभिन्न तालिम सञ्चालन गरिरहेको बताउदै नगरको पैसा हो सिकिराखौ भनेर समय र पैसा खेर नफाल्न समेत सहभागीलाई आग्रह गर्नुभएको छ ।

उहाँले तालिम लिएर व्यवसायिक, आत्मनिर्भर बनेमा मात्रै तालिमको उपलब्धि हुने बताउदै तालिम पश्चात् नगरपालिकाले विभिन्न समयमा समेत गर्ने बताउनु भएको छ । कार्यक्रममा तालिमको मुख्य प्रशिक्षक सरस्वती रिजालले तालिम अवधिभर पुर्णरूपमा समय र ध्यान दिएमा तालिम उपलब्धिमूलक रहने बताउनु भयो ।

अति सिमान्तकृत सन्थाल समूदायको महिलाहरूको लागि सञ्चालित ३ महिने आधारभूत सिलाइकटाइ तालिम सञ्चालन गरिएको र आधारभूत तालिम लिइसकेका बिपन्न, दलित, एकल महिलाहरूको लागि सञ्चालित २ महिने एडभान्स सिलाइकटाई तालिमको सञ्चालन गरिएको उर्लाबारी नगरपालिका महिला, बालबालिका शाखा प्रमुख चन्द्रकला सुब्बाले बताउनु भयो ।

तालिममा सहभागीहरूलाई आवश्यक स्टेसनरी सामाग्री, खाजा नगरपालिकाले नै बितरण गर्ने साथै आधारभूत तालिमका सहभागीलाई महिला बालबालिका मन्त्रालयको सहयोगमा तालिम पश्चात् मेसिन समेत बितरण गरिने बताउनु भयो । नगरका ४० जना प्रशिक्षार्थी तालिममा सहभागी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्