पुस २७ गते उर्लाबारीमा स्थानीय सार्वजनिक बिदा दिन माग गर्दै ज्ञापनपत्र


उर्लाबारी, २५ पुस । राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी उर्लाबारीले पुस २७ गते स्थानीय सार्वजनिक बिदा दिन माग गर्दै आज उर्लाबारी नगरपालिका कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।

राप्रपाका केन्द्रीय सदस्य होम गौतम समेतको उपस्थितिमा जिल्ला, क्षेत्रीय र नगर समितिका नेता कार्यकर्ताहरुको टोलीले स्थानीय सार्वजनिक विदा दिन माग गर्दै उपप्रमुख लक्ष्मीदेवी भण्डारीलाई ज्ञापनपत्र बुझाएको हो । नेपालीलाई नाम र पहिचान दिने राष्ट्र निर्माताको सम्मानमा राज्यका तर्फबाट कुनै कमी हुन दिनु हुँदैन भन्ने राप्रपाको अविचलित मान्यता रहीआएको साथै उहाँको जन्म जयन्तीलाई राष्ट्रिय पर्वको रूपमा मनाउँदा कसैको आस्था र विश्वासमाथि चोट नपुग्ने भन्दै उर्लाबारीमा पनि सार्वजनिक विदा दिन माग गर्दै ज्ञापन पत्र बुझाईएको राप्रपाका नगर अध्यक्ष देवी दाहालले जानकारी दिनुभयो ।

केन्द्रीय सदस्य गौतम, नगर अध्यक्ष दाहाल, प्रदेश समिति सदस्य पुर्ण वाईवा, जिल्ला सदस्य पुर्ण बोहोरा, राजन कार्की, क्षेत्रीय अध्यक्ष जंगहादुर कार्की, प्रदेश क अध्यक्ष धर्मराज शाक्य, क्षेत्रीय उपाध्यक्ष प्रलाद थापा, नगर उपाध्यक्ष श्याम ढकाल, नगर सचिव खेम गौतम लगायतको टोलीले ज्ञापनपत्र बुझाएको हो । पुस २७ गते पृथ्वीनारायण शाहको जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाउँदै आईएको छ ।

प्रतिक्रिया दिनुहोस्