झापामा काउली खेतीप्रति किसान उत्साहित


झापा – कमल–२ सिमलडाँगीका किसान नवराज पौडेल तीन वर्षयता तरकारी खेती गर्दै आउनुभएको छ। वैदेशिक रोजगारीबाट फर्किनुभएका उहाँ अहिले कृषि पेशामै रमाउनुभएका छन् । तीन वर्षदेखि तराकारी खेती गरे पनि यसपटक भने उहाँ निकै उत्साहित हुनुहुन्छ । यसअर्थमा दुःख गरेर लगाएको तरकारीले राम्रो बजार मूल्य पाएको छ ।

गत वर्षको तुलतामा यसपटक काउलीले राम्रो मूल्य पाएको उहाँले बताउनुभयो । गत वर्ष २५–३० रुपैयाँ केजी रहेको फूलकोपी यसपटक ५० रुपैयाँसम्म बिक्री भएको उहाँले भन्नुभयो । गत वर्ष १५ रुपैयाँसम्ममा बिक्री भएको बन्दाकोपी यसपटक ३० देखि ३५ रुपैयाँसम्ममा बिक्री भइरहेको छ । ‘१३ कठ्ठामा तरकारी लगाएको छु । अहिले त राम्रो भइरहेको छ । कोपीको मूल्य गत वर्षको तुलनामा यसपटक राम्रो छ । बजारमा यस्तो मूल्य भयो भने न हामीले पनि राहत पाउँथ्यौँ,’ उहाँले भन्नुभयो, ‘खेती गर्न पनि जाँगर चल्ने थियो नि ।’

उहाँ बिहानै उठ्नुहुन्छ । तरकारीहरू टिपेर बजार पुर्‍याउनुहुन्छ । आफ्नो अर्गानिक उत्पादन बारे सबैलाई जानकारी दिँदै बजारमा पुर्‍याएर आफैँ बिक्री गर्नुहुन्छ । ‘खेतमा उत्पादन भएको धानले घरमा राम्ररी पुग्छ । सब्जीमा एक वर्षमा ५० हजार खर्च गर्छु । दुई लाख ५० हजार जति बच्छ,’ उहाँ भन्नुहुन्छ, ‘खेती गरेर पनि जीवन राम्ररी चलाउन सकिन्छ । परिवार खुसीले पाल्न सकिन्छ । विदेश जान पर्दैन । तर, मिहिनेत चाहिं पर्छ ।’

नवराज मात्र हैन सिमलडाँगीका अधिकांश किसान तरकारी खेतीमा छन् । यसपटक अधिकांशले कोपी लगाएका छन् । यसपटक कोपीको उत्पादन र मूल्य राम्रो छ । ‘यसपटक त कोपीको मूल्य राम्रो छ । पहिला १० रुपैयाँसम्म बेचेको कोपी यसपटक भने ५० रुपैयाँसम्म आएको छ,’ कमल–२ सिमलडाँगीकी कृषक चन्द्रकला माझी भन्नुहुन्छ, ‘एउटा कोपीमा दुई केजीभन्दा धेरै हुन्छ । एउटा कोपीका लागि हामीले पाँच रुपैयाँसम्म खर्च गरेका हुन्छौँ ।’

कृषकले कोपी फूलमात्रै हैन पात पनि बिक्री गर्ने गरेका छन् । पशुपालक किसानले घरमै आएर केजीको २० रुपैयाँसम्ममा लैजााने गरेको माझीले सुनाउनुभयो । ‘एउटा कोपीमा दुई केजीसम्म पात हुन्छ । पातबाट ४० रुपैयाँ आउँछ,’ उहाँ भन्नुहुन्छ, ‘बजार भाउ सधैँ यस्तै भए त धेरै राम्रो हुने थियो ।’

सिमलडाँगीका किसनको मुख्य पेशा नै कृषि हो । तर, स्थानीय तहले खासै चासो नदिएको उनीहरूको आरोप छ । स्थानीय तहले तरकारीका लागि बीउ दिए पनि कामै नलाग्ने कृषक पौडेलले बताउनुभयो । ‘कहिलेकाहीँ विषादीमा सहयोग गर्छ । नभए त हामीले खासै सहयोग पाउँदैनौँ । स्थानीय तहले बीउ दिन्छ। तर, उसले दिने बीउमा हामी सन्तुष्ट छैनौँ,’ पौडेले भन्नुहुन्छ, ‘बीउ त हामीलाई प्रयोग गर्न मात्र दिएको जस्तो लाग्छ । राम्रो छ भनेर गाउँपालिकाले दिन्छ । तर, त्यो बीउ पछि कामै लाग्दैन । हाम्रो मिहिनेत मात्र जान्छ । यस्तो बीउ त नदिँदै ठीक हुन्छ ।’

बेमौसमी वर्षाले धेरै ठाउँमा क्षति पुर्‍यायो । जसको असर तरकारी बालीमा पनि पर्यो । तर, क्षति पुर्‍याएर बाँकी रहेको तरकारीले भने राम्रो बजार पाएको कृषि ज्ञान केन्द्र झापाको भनाइ छ । कोपीसँगै अन्य बालीको पनि बजार मुल्य राम्रो रहेको कृषि ज्ञान केन्द्र झापाका कृषि अर्थविज्ञ शालिकराम भट्टराईले जानकारी दिनुभयो । ‘तरकारी बालीमा बेमौसमी वर्षाले धेरै क्षति गर्यो । त्यसका कारण मुल्य बढेको छ,’ उहाँले भन्नुभयो, ‘कोपी पनि कतिपयले रोपेका थिए । वर्षाले बिगार्यो । कतिपयले रोप्नै पाएनन् । यसवर्ष त्यही कारण कोपीको पनि मूल्य राम्रो छ ।’

प्रतिक्रिया दिनुहोस्