प्रदेश-१ : कोशी कोरिडोर निर्माणले उजाड ‘टिएमजे’


धनुकटा – प्रदेश १ मा राष्ट्रिय गौरवको कोशी कोरिडोर विद्युत प्रशारण लाइन विस्तार भइरहेको छ। निर्माणाधीन कोशी कोरिडोर २२० केभीए विद्युत प्रशारण लाइन विस्तारका क्रममा २५ हजारभन्दा बढी रुख काँटिने भएको छ ।

गुराँसको राजधानीका रुपमा परिचित तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल तीनजुरे मिल्के जलजले (टिएमजे) को मध्यभागबाट विद्युत प्रसारण लाइन विस्तार हुने भएपछि यसले नकारात्मक प्रभाव पार्ने भन्दै विकल्पको खोज्न स्थानीयले माग गरेका छन् । टिएमजेको वन क्षेत्रमा ठूलो संख्यामा रुख काँटिदा पर्यटन र पर्यावरणमा नकारात्मक असर पर्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका हुन् ।

गुराँस र हरियो वनका कारण फस्टाएको यहाँको पर्यटन व्यवसाय रुख कटानपछि खस्किने आशंका स्थानीयको छ। विद्युत विस्तार गर्दा वन क्षेत्र जोगाएर लैजान सकिने अवस्था हुँदाहुँदै पनि आयोजना कार्यालयले घना वन क्षेत्र नै फडानी गरेर विद्युत विस्तार सुरु गरेको छ ।

पूर्वी पहाडी जिल्लाको हालसम्म कै ठूलो आयोजना मानिएको कोशी करिडोर २२० केभिए विद्युत प्रशारण लाइन विस्तार धमाधम भइरहेको छ। आयोजनाले धनकुटा र तेह्रथुममा पोल गाड्ने तथा तार जोड्ने काम गरिरहेको छ। विद्युत लाइन विस्तार गुराँसको राजधानी तीनजुरे मिल्के जलजले क्षेत्रको मध्यभागबाट हुने भएकाले यहाँका हजारौं रुख काँटिदा यस क्षेत्रको जैविक विविधता नष्ट भएर पर्यटकीय आकर्षण खस्कने लालीगुराँस नगरपालिका–१ वसन्तपुरका मिङ्मा शेर्पाले बताउनुभयो ।

गुराँस नै हेर्न देशविदेशका पर्यटक आउने गरेका र वन फडानीले पर्यटक आउन कमी हुने उहाँको आशंका छ । उहाँले अन्यत्र ठाउँ हुँदाहुँदै जंगल बीभबाट फडानी गरेर लगेका कारणले पर्यटक कम आउन थालिसकेको बताउनुभयो ।

आयोजना संचालनका लागि २०७३ सालमा प्रारम्भिक वातावरणीय परीक्षण गरिएको थियो । आयोजनाले पहिलो पटक सर्भे गर्दा तीनजुरेको डाँडैडाँडा लाइन विस्तार गर्ने भनेको सहमति दिएको धर्मदेवी नगरपालिका–१ संखुवासभाका तीनजुरे हात्तीसार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष डम्बरबहादुर वुढाथोकीले बताउनुभयो ।

दोस्रो पटक सर्भे गरेर जहाँ घना जंगल छ त्यहाँबाट लान लागेको बुढाथोकीले बताउनुभयो । उहाँले दोस्रो पटक गरेको सर्भेमा आयोजनाले कसैको सहमति नलिएको बताउनुभयो । ‘जंगल मासिएपछि मुलुक कै महत्वपूर्ण पर्यटकीय स्थल गुम्ने, जीवजन्तु माँसिने, पानीका मुहान सुक्ने प्रवल सम्भावना देखियो।’ बुढाथोकीले भन्नुभयो, ‘जसले गर्दा पछि गएर जलवायु र जैविक विविधतालाई कोशी कोरिडोरले ठूलो असर पुर्याउने रहेछ भन्ने देखियो ।’ पहिले सामुदायिक वनहरूले तीनजुरेको बाटो भनेर अर्कै सर्भेमा सहमति गरेको बुढाथोकीले पटक पटक दोहोर्‍याउनुभयो ।

गुराँससहितको रुख कटानले नमूना शहर वसन्तपुर बजारमा खानेपानीको संकट हुने लालिगुँरास नगरपालिकाका प्रमुख अर्जुन माबोहाङले बताउनुभयो । उहाँले वनजंगल जोगाएर लाने गरी विकल्प खोज्न अनुरोध गरिएको जानकारी दिनुभयो ।

वसन्तपुरको टुटे हुँदै ताप्लेजुङको ढुंगेसाँघुसम्मको ३४ किलोमिटर लामो प्रसारण लाइन विस्तार गर्दा तेह्रथुमका ६ वटा सामुदायिक वन क्षेत्रका रुख कटान हुनेछन् । घनाजंगल काटेर खाली हुँदा वन्यजन्तुको बासस्थानमा समेत असर पर्ने देखिएको छ । सवडिभिजन वन कार्यालय वसन्तपुरका सहायक वन अधिकृत सोमेश्वरकुमार दासले राष्ट्रिय गौरवको आयोजना भएकाले यसको वातावरणी प्रभाव मुल्यांकन गरिएको जानकारी दिनुभयो ।

उहाँले तीनजुरेका गुराँससहितका रुखहरू मन्त्रीपरिषदको निर्णयबाट कटान गरिएको बताउनुभयो । आयोजनाले कटान गरिएको एक रुख बराबर २५ बिरुवा वृक्षारोपण गरेर पाँच वर्षभित्र प्रभावित क्षेत्रमा हुर्काउने सहमति भएको दासले बताउनुभयो । कटान गरिएको सुरुमा वातावरणमा, पर्यावरण असर पर्ने जस्तो देखिए पनि पछि नयाँ बिरुवा हुर्किएपछि त्यस्तो नहुने उहाँले बताउनुभयो । विद्युत जनजीवनसँग जोडिएको हिसाबले पनि यसलाई प्राथमिकतामा राखिएको दासको भनाइ छ।

ताप्लेजुङको तमोर र मेवा खोलामा उत्पादन भएको र हुने चरणमा रहेको एक हजार मेगावाट क्षमताको कोशी करिडोर तेह्रथुमको वसन्तपुर सव–स्टेशन हुँदै सुनसरीको इनरुवामा रहेको केन्द्रीय विद्युत प्रसारण लाइनमा जोड्ने गरी काम भइरहेको छ । प्रशारण आयोजनाले वन क्षेत्रका हुर्किएका र हुर्किने चरणमा रहेका करिब २५ हजार रुख कटान गर्दा हरियो वन उजाड हुने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्