बलात्कार आरोपमा धनकुटाको सहिदभूमिका वडाध्यक्ष पक्राउ



धनकुटा । युवतीमाथि बलात्कार गरेको आरोपमा धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं.५ खोकुका वडाध्यक्ष सन्तोष राई पक्राउ परेका छन् । आफूमाथि जबरजस्ती करणी भएको भन्दै युवतीले उजुरी दिएपछि गएराती प्रहरीले वडाध्यक्ष राईलाई पक्राउ गरेको हो ।

शनिवार उजुरी परेपछि वडाध्यक्ष राईलाई धनकुटा बजार क्षेत्रबाट राती करिब ११ बजे पक्राउ गरिएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी चिरञ्जीवी दाहालले बताए । ‘असार २४ गते होटलमा पुऱ्याएर बन्धक बनाई आफूमाथि बलात्कार गरेको भन्दै युवतीले उजुरी दिएपछि वडाध्यक्ष राईलाई पक्राउ गरेका छौं,’ डीएसपी दाहालले भने, ‘घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।’

खोकुका ३८ वर्षीय वडाध्यक्ष राईले सहिदभूमिकै २३ बर्षीया युवतीलाई तेह्रथुमको बसन्तपुरस्थित ताप्लेजुङ होटलमा पुर्याएर बन्धक बनाई बलात्कार गरेको आरोप छ । हिले घुम्न जाउँ भनी बोलाएर बसन्तपुर पुर्याई राती होटलमै बन्धक शैलीमा राखेर बलात्कार गरेको उजुरीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्