रतुवामाईमा पानी जमेको खाल्डोभित्र भेटियो युवतीको शव


विराटनगर – मोरङको रतुवामाई नगरपालिका–२ डोरियामा पानी जमेको खाल्डोभित्र सोमबार बिहान एक जना युवतीको शव भेटिएको छ । खाल्डोको पानीमा जमेर मृत्यु भएको अवस्थामा अन्दाजी २५ वर्षीया युवतीको शव फेला परेको प्रहरीले जनाएको छ ।

मृतकको पहिचान खुलेको छैन । स्थानीयले शव देखेपछि बिहान ५ः३० बजेतिर प्रहरीलाई खबर गरेका हुन् । डोरिया स्वास्थ्य चौकीबाट लगभग ५० मिटरजति उत्तरमा शव फेला परेको हो । शवलाई पोस्टमार्टमका लागि रङ्गेली अस्पताल ल्याइएको छ ।

मृतकको पहिचान नखुलेको र आफन्त कोही पनि सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आफन्तको खोजी गर्दै मृतकको पहिचानको प्रयास भइरहेको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले घटनाका बारेमा अनुसन्धान थालिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्