उर्लाबारी नगरपालिकाको नगरसभाबाट शिक्षा, खानेपानी र सहकारी बिधेयक पारित


उर्लाबारी, १७ असार । उर्लाबारी नगरपालिकाको आज सम्पन्न आठौँ नगरसभाबाट बिभिन्न विधेयकहरु पारित हुनुका साथै न्यायिक समिति गठन गरिएको छ । नगर प्रमुख गंगाप्रसाद खरेलको अध्यक्षतामा बसेको बैठकबाट शिक्षा सम्बन्धी विधेयक – २०७९, खानेपानी सेवा व्यवस्थापन तथा नियमन विधेयक – २०७९, सहकारी पहिलो संशोधन विधेयक – २०७९ नगरसभाबाट पारित भएको नगर प्रबक्ता भिष्म बुढाथोकीले जानकारी दिनुभयो ।

शिक्षा सम्बन्धी विधेयक – २०७९ मा नेपाली काँग्रेसबाट निर्वाचत जनप्रतिनिधिले “नोट अफ डिसेन्ट” लेखेपनि बहुमतले पारित भएको छ । सो विधेककका बिभिन्न बुद्धामा काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिले असहमति जनाएका थिए । यस्तै नगरसभाबाट उपप्रमुख मिना खतिवडाको संयोजकत्वमा नगर न्यायिक समिति पनि गठन भएको छ । सो समितिको सदस्यमा वडा सदस्य रुद्र लामिछाने र अमृता परियार नेपाली चयन हुनुभएको छ ।

यस्तै नगरसभाबाटै बिभिन्न समितिहरु पनि गठन गरिएको छ । अर्थ तथा सार्वजनिक लेखा समितिको संयोजकमा चिन्तामणि पौडेल, बिधायन समितिको संयोजकमा कुलबहादुर कार्की, सामाजिक समितिको संयोजकमा रविन लामा, सुशासन तथा स्थानिय सेवा समितिको संयोजकमा राजन कँडेल, कृषि पर्यटन पुर्वाधार तथा प्राकृतिक श्रोत समितिको संयोजकमा तिलककुमार पाण्डे चयन हुनुभएको छ । नगरसभाले राजघाट स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्