मन्त्री र मोरङका सुरक्षा प्रमुखले गरे कटान क्षेत्रको निरीक्षण


विराटनगर  – प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की र सुरक्षा प्रमुख सम्मिलित टोलीले मोरङका विभिन्न स्थानका कटान क्षेत्रको अवलोकन एवं निरीक्षण गरेको छ । जिल्ला विपद् व्यवस्थापन समिति मोरङका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको सक्रियतामा वर्षा र बाढीजस्ता विपद्बाट प्रभावित अति जोखिमयुक्त क्षेत्र तथा मावा, बक्राहा, चिसाङसमेतका खोलाले गरिरहेको कटानको बिहीबार निरीक्षण गरिएको हो ।

निरीक्षणमा उर्लाबारी नगरपालिकाका प्रमुख गङ्गाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा (पौडेल), रङ्गेली नगरपालिकाका प्रमुख दिलिप बगडिया (अग्रवाल), विभिन्न वडाका वडाध्यक्षसमेतका जनप्रतिनिधि, नेपाली सेनाका प्रमुख सेनानी अमृत थापामगर, मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइराला, राष्ट्रिय अनुसन्धानका प्रमुख बासुदेव सिग्देललगायत सहभागी थिए ।

वर्षाका कारण बाढी आएर बहाव उच्च भएसँगै खोलाहरुले पूर्वी मोरङका विभिन्न स्थानमा कटान तीव्र पारेका छन् । सेना, नेपाल र सशस्त्र प्रहरीसहितले कटानग्रस्त ठाउँको संरक्षणमा सक्रियता देखाए पनि समस्या समाधानको दीगो उपाय अपनाउन सकिएको छैन । मावा, बक्राहा र चिसाङ खोलाले उर्लाबारी, पथरीशनिश्चरे, रङ्गेलीसमेतका नगरपालिकाका विभिन्न वडामा कटान गरिरहेको प्रजिअ दाहालले बताए ।

खोलाले उर्लाबारी नगरपालिका–८, ९, पथरीशनिश्चरे नगरपालिका–५, रङ्गेली नगरपालिका–३ र ७ मा कटान गरिरहेको उनको भनाइ छ । सुरक्षा निकाय, वडा तथा पालिकाको सक्रियतामा तत्काल प्रोत्साहन र कटान नियन्त्रणमा अस्थायी हिसाबका काम भए पनि समस्याको दीर्घकालीन समाधानमा भने सम्बन्धित निकायले ध्यान नदिएको पाइएको छ । दाहालका अनुसार खोलाले अस्थायी तटबन्ध भत्काउँदै कटान तीव्र बनाउँदा दर्जनौं बस्ती जोखिममा परेका छन् ।

सयौं बिघा खेतीयोग्य जमिन बगरमा परिणत हुने अवस्था रहेको उनले बताए । तटबन्ध निर्माण गरेर खोला नियन्त्रण गर्दै जमिन, सडक र पुलको सुरक्षामा सक्रियता देखाउनुपर्ने हुलाकी सडक आयोजना, कोसी–बक्राहा नदी नियन्त्रण योजना, जनताको तटबन्ध कार्यक्रमसमेतका निकाय भने बेखबर छन् । सम्बन्धित निकायको निष्कृयताले सर्वसाधारण भने जोखिममा परेका छन् । करोडौं खर्चिएर निर्माण गरिएका सडक, पलुसमेतका संरचना क्षतिग्रस्त हुँदैछन् ।

उर्लाबारी नगरपालिकाकी उपमेयर खतिवडाले मावा खोलाको कटानका कारण दजैनौं बस्ती उच्च जोखिममा परेको बताइन् । ‘बाढी आएको खोलो जमिन कटान गर्दै बस्तीतिर पस्न लागेको छ । जसका कारण उर्लाबारी–८, ९ र रतुवामाई नगरपालिकाको ८ र १० सहित केही वडा उच्च जोखिममा परेका छन्,’ उनले भनिन्, ‘नगरपालिकाका तर्फबाट खोला नियन्त्रणका लागि सकेजति प्रयास भइरहेको छ । ठूलो लगानी लाग्ने हुँदा सङ्घीय र प्रदेश सरकारको सहयोग बिना पूर्ण रूपमा बस्तीलाई सुरक्षित बनाउन सम्भव छैन ।’ खोलाले कटान तीव्र बनाएपछि हुलाकी राजमार्गअन्तर्गत विराटनगर–रङ्गेली सडकखण्डको चिसाङ खोलामाथिको पुल अति नै जीर्ण बनेको रङ्गेली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज कार्कीले जानकारी दिए ।

‘जोखिम बढाउनुका साथै खोलाको कटानले पुल बग्न लागेको छ,’ उनले भने, ‘तत्काल नियन्त्रणको काम नगरिए खोलाले पुल बगाएर हुलाकी राजमार्ग अवरुद्ध बन्ने अवस्था छ ।’ बाढीले कल्भर्ट बगाएपछि अवरुद्ध बनेको यो सडकखण्ड नगरपालिकाको सक्रियतामा ह्युम पाइप राखेर सूचारु गरिएको कार्कीले बताए । पुलको सुरक्षाका लागि नगरपालिकाले तत्काल अस्थायी हिसाबको काम गरे पनि सम्बन्धित निकाय (हुलाकी सडक आयोजना)ले कुनै सक्रियता देखाएको छैन । ‘करोडौंको पुल क्षतिग्रस्त बन्ने अवस्था छ । पुल बग्यो भने हुलाकी राजमार्ग अवरुद्ध भएर सवारी आवागमन प्रभावित बन्छ,’ कार्कीले भने, ‘यो सडकको कुनै वैकल्पिक व्यवस्था पनि छैन । पुल र सडकमा क्षति पुगेर सवारी आवागमन ठप्प भयो भने रङ्गेली, सुनवर्षी, रतुवामाईसमेतका हजारौँ सर्वसाधारणलाई समस्या हुन्छ ।’ समस्या समाधानका लागि तत्काल कुनै उपाय नअपनाइए प्रदेश राजधानी विराटनगरसँगको सडक सम्पर्क नै विच्छेद हुने र दैनिक उपभोग्य वस्तु तथा औषधिको आपूर्तिमा समस्या आउने उनको भनाइ छ ।

रङ्गेलीका मेयर बगडियाले कटानको मारमा सर्वसाधारण जनता पर्दा पनि सङ्घीय र प्रदेश सरकारबाट कुनै सहयोग पाउन नसकेको गुनासो गरे । ‘खोलाले सडक र पुल बगाउन लाग्यो । सहयोगका लागि बारम्बार अग्रह गर्दा पनि माथिल्ला सरकारबाट सहयोग पाउन सकिएन,’ उनले भने, ‘सम्बन्धित निकायले पनि चासो दिएनन् । ठूलो रकम खर्च हुने हुँदा समस्या समाधानका लागि नगरपालिका एक्लैले केही गर्न सक्दैन ।’ निर्माणले पूर्णत पाउन नसकेको हुलाकी राजमार्गका कारण अधिकांश स्थान डुबान र कटानमा परिरहेको पाइएको छ । सडक निर्माणले पूर्णता नपाउँदा आवश्यकता अनुसार पानीको निकास नभएर जोखिम उच्च बनेको हो । प्रजिअ दाहालले कटान लगातार भइरहेकाले ठूलो क्षति हुने सम्भावना रहेको बताए । ‘ग्रामीण सडकहरु वर्षा र बाढीले क्षतिग्रस्त बनेका छन् । कटान तीव्र बनाएर खोला बस्तीतिर पस्न लागेको छ,’ उनले भने, ‘चिसाङ खोलाको कटानका कारण हुलाकी राजमार्ग अवरुद्ध हुने सम्भावना बढेको पाइयो । हजारौँ सर्वसाधारण प्रभावित हुने अवस्था रहेछ ।’ सङ्घीय योजनाअन्तर्गत पर्ने जनताको तटबन्ध कार्यक्रम झापाले आकस्मिक बजेट नहुने हुँदा समस्या भइरहेको जनाएको छ । उर्जा तथा जलस्रोत मन्त्रालयमार्फत सञ्चालित यो कार्यक्रमले मावा खोला नियन्त्रणको काम गर्ने गर्छ ।

कार्यक्रमका प्रमुख रूपनारायण अधिकारीले अस्थायी रूपमा भए पनि समस्या समाधानको प्रयास गरिएको र आकस्मिक बजेट नहुँदा गाह्रो परिरहेको बताए । मोरङका प्रजिअ दाहालले अस्थायी रूपमै भए पनि समस्या समाधानका लागि अग्रसरता देखाउन जनप्रतिनिधहरुलाई आग्रह गरेका छन् । उनले चिसाङ खोलाले निम्त्याएको समस्या समाधान गरेर सडक र पुल जोगाउनेतर्फ भूमिका खेल्न हुलाकी सडक आयोजनाका प्रमुख विजज थापालाई निर्देशनसमेत दिए । दाहालले मावा खोलाको कटान नियन्त्रणका लागि उर्जा तथा जलस्रोत मन्त्री पम्फा भुसाललाई निरीक्षणस्थलबाटै फोन गरेर जनताको तटबन्ध कार्यक्रममार्फत काम अघि बढाउने वातावरण तत्काल बनाइदिन आग्रहसमेत गरेका छन् । उनले समस्या समाधानका लागि आकस्मिक बजेटको व्यवस्था गरिदिन मन्त्री भुसालसँग आग्रह गरेका हुन् । आन्तरिक मामिला तथा कानुन मन्त्री कार्कीले बाढी तथा कटानको समस्या समाधानका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताए । ‘बाढी र कटानले ठूलो क्षति गर्दा सर्वसाधारण जोखिममा परेका छन्,’ उनले भने, ‘कटान नियन्त्रणका लागि सरकारका तर्फबाट सक्दो सहयोग हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्