बेलवारीमा उपप्रमुखको जोडबलमा जनप्रतिनिधिलाई साडी र झोला वितरण



बेलवारी, १३ असार । नवनिर्वाचित महिला जनप्रतिनिधिलाई मोरङको बेलबारी नगरपालिकाले १ लाख ७४ हजारको साडी वितरण गरेको छ । जनताको सेवामा लाग्ने प्रतिवद्धताका साथ निर्वाचन जितेका जनप्रतिनिधिले आफैंलाई साडी वितरण गर्न थालेपछि कतिपयले त्यसको आलोचना गरेका छन् ।

बेलबारी नगरसभामा पोशाकका रूपमा महिला जनप्रतिनिधिहरूलाई साडी वितरण गरिएको हो । गत असार ९ गते बसेको नगर कार्यपालिकाको बैठकबाट निर्णय गराएर महिला जनप्रतिनिधिहरूलाई साडी दिएको बताइएको छ । ६ हजार मूल्य बराबरको साडी महिलाहरूलाई दिएको नगरपालिका स्रोतले बताएको छ । उपमेयर निता थापा कोइरालाले नै महिला जनप्रतिनिधिका लागि साडी खरिद गरेर ल्याएकी थिइन् ।

नगरपालिकाको लेखा शाखाले उनीहरुकै बैंक खातामा उक्त रकम पठाउने तयारी गरेको छ । ‘कार्यतालिकाको निर्णय कार्यान्वयन गर्ने हाम्रो कर्तव्य हो,’ लेखा शाखाका एक कर्मचारीले भने । उक्त साडीको मूल्य भने भ्याटसहित ६ हजार रहेको छ । ६ हजार रुपैयाँ नगरपालिकाले खातामा हालिदिएपछि सो रकम उपप्रमुखलाई बुझाउने एक महिला जनप्रतिनिधिले बताइन् । तर, ६ हजारमा ल्याइएको भनिएको साडीको मूल्य ६ हजार पर्ने खालको नभएको उनको भनाइ छ ।

उपमेयरसहित २४ जना जनताबाट निर्वाचित जनप्रतिनिधि हुन् भने ५ जना कार्यपालिकाबाट निर्वाचित भएका हुन् । ‘२९ जनालाई ६ हजारका दरले साडी वितरण गर्दा १ लाख ७४ हजार नगरपालिकालाई भार परेको छ’, एक कर्मचारीले भने ।

यस्तै पुरुष जनप्रतिनिधिलाई भने नगर सभामा कागजपत्रहरू हाल्न भन्दै ३५ सय रुपैयाँ पर्ने झोला वितरण गरिएको छ । नगरपालिकाका जिन्सी शाखाका प्रमुख चतुर भुज माझीका अनुसार उनीहरूलाई झोला वितरण गरिएको हो । मेयरसहित ३३ जना निर्वाचित जनप्रतिनिधि हुन भने तीन जना कार्यपालिकाबाट निर्वाचित भएका हुन् । ३७ जनालाई झोला वितरण गर्दा १ लाख २९ हजार पाँच सय रुपैयाँ राज्यलाई भार परेको छ ।

प्रतिक्रिया दिनुहोस्