मोरङमा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु


मोरङ, ८ असार । मोरङको पथरीशनिश्चरे र सुन्दरहरैँचा नगरपालिकामा भएका अलग-अलग दुर्घटनामा परेर मङ्गलबार राति दुई जनाको मृत्यु भएको छ ।
दुईवटै दुर्घटनामा महिलाको मृत्यु भएको हो । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत पथरीशनिश्चरे नगरपालिका–२ मा मोटरसाइकलको ठक्करबाट पैदल यात्री महिलाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४७ प ००१५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पथरीशनिश्चरे–२ की ५० वर्षीया विमला खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पैदल हिँडिरहेका बेला मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी खड्काको उपचारका क्रममा राति ९ः२० बजेतिर विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनालगत्तै प्रहरीले चालक भोजपुरको अरुण गाउँपालिका–७ का ३५ वर्षीय सचिन राईलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ । राईसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) पनि नभएको पाइएको छ ।

त्यस्तै सुन्दरहरैँचा नगरपालिका–११ मा मोटरसाइकलबाट लडेर एक जना महिलाको मृत्यु भएको छ । भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को ३३ प ४२३१ नम्बरको मोटरसाइकलबाट लडेर स्थानीय ३० वर्षीय देवकुमारी श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

साइकललाई जोगाउने क्रममा अनियन्त्रित बनेको मोटरसाइकलबाट हामफाल्ने क्रममा लडेर उनी घाइते भएकी थिइन् । श्रेष्ठ सोही मोटरसाइकलको पछाडि सवार रहेको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि नोबेल अस्पताल ल्याउनेवित्तिकै साँझ ७ बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन् ।
मोटरसाइकल देवकुमारीकै पति ३१ वर्षीय सन्देश श्रेष्ठले चलाएका थिए । प्रहरीले घटनाका बारेमा अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्